पछिल्ला वर्षहरूमा मकवानपुर जिल्लामा महिला उद्यमीहरूको सक्रियता उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ। विशेषगरी महिलाको स्वामित्वमा सञ्चालन हुने उद्योग–व्यवसाय दर्तामा सरकारले ५० प्रतिशतसम्म दस्तुर छुटको व्यवस्था गरेपछि यस्तो प्रवृत्ति अझ तीव्र भएको हो।

उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाभित्र जिल्लामा ३०४ नयाँ उद्योग दर्ता भएका छन्। तीमध्ये १६८ उद्योग महिलाका नाममा दर्ता भएका छन्, जसले महिला सहभागिता बढ्दो रहेको संकेत गर्छ।

महिलाले सञ्चालन गरेका व्यवसायहरूमा प्रायः जनरल स्टोर, सिलाइ–कटाइ सेवा र ब्यूटी पार्लर रहेका छन्। त्यस्तै उद्योगतर्फ कृषि, माछापालन र पशुपालनसँग सम्बन्धित गतिविधि बढी देखिएका छन्।

कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार सरकारी छुट सुविधा, स्थानीय तहको निगरानी तथा बैंक तथा वित्तीय संस्थाबाट सहज ऋण उपलब्धताले पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढाउन मद्दत गरेको छ।

यस अवधिमा उद्योगतर्फ ४० वटा नामसारी, १५ वटा स्थानान्तरण, ९४८ वटा नवीकरण, ४३ वटा प्रतिलिपि वितरण, ७३ वटा लगत कट्टा र २८ वटा उद्देश्य थप गरिएका छन्। त्यस्तै वाणिज्य क्षेत्रतर्फ पाँच वटा नामसारी, सात वटा स्थानान्तरण, २७ वटा पूँजी वृद्धि, १,०५४ वटा नवीकरण, ९३ वटा लगत कट्टा तथा ३७ वटा उद्देश्य थप गरिएको विवरण छ।

नयाँ दर्ता, नवीकरण, लगत कट्टा लगायतका सेवामार्फत उक्त अवधिमा कुल १ करोड ३१ लाख ८४ हजार १५९ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

पालिका प्रेस
थप जानकारी