बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा गोष्ठी ८ पुसमा हेटौंडामा सम्पन्न छ । मन्त्रालयले पहिलो चौमासिक अवधिमा सञ्चालन गरेका कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था, उपलब्धि तथा चुनौतीबारे समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।

गोष्ठीलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयका कार्यक्रमहरू कागजमै सीमित नभई प्रत्यक्ष रूपमा नागरिकले अनुभूति गर्ने खालका हुनुपर्नेमा जोड दिए । मन्त्री थापाले श्रम, रोजगार र यातायात क्षेत्र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले सेवा प्रवाहमा कुनै पनि प्रकारको ढिलासुस्ती सह्य नहुने स्पष्ट पारे ।

मन्त्री थापाले प्रदेशभित्र रोजगारीका अवसर सिर्जना, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने, श्रमिकको हकहित संरक्षण तथा यातायात सेवा सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गरे । सवारी चालक अनुमति पत्र वितरण प्रणाली, ट्रायल सेन्टरको व्यवस्थापन, सार्वजनिक यातायातको नियमन तथा श्रम बजार व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालय सक्रिय रूपमा काम गरिरहेको उनको भनाइ थियो।

यसैगरी गोष्ठीलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले मन्त्रालयका कार्यक्रमहरू परिणाममुखी र मापनयोग्य हुनुपर्नेमा जोड दिए । प्रमुख सचिव अधिकारीले बजेट खर्चसँगै त्यसको प्रभाव नागरिकस्तरमा देखिनुपर्ने बताउँदै कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले कर्मचारीको कार्यदक्षता, पारदर्शिता र जवाफदेहिता बढाएर मात्र प्रदेश सरकारप्रति जनविश्वास सुदृढ गर्न सकिने उल्लेख गरे ।

गोष्ठीमा मन्त्रालयका सचिव राम बाबु पुरीले प्रथम चौमासिक अवधिमा मन्त्रालयले बजेट कार्यान्वयनको अवस्था, कार्यक्रमगत प्रगति र संरचनागत चुनौतीबारे जानकारी दिँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव, प्राविधिक जनशक्ति कमी र प्रक्रियागत जटिलता मुख्य चुनौतीका रूपमा रहेको बताए । गोष्ठीमा मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुख, कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यालय प्रमुखहरूले सेवा प्रवाहमा देखिएका समस्या, नीति कार्यान्वयनका चुनौती र सुधारका उपायबारे आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

पालिका प्रेस
थप जानकारी