मकवानपुरको कैलाश गाउँपालिकामा लैड्डिकहिंसाविरुद्ध १६ दिने अभियान सकिएको छ । प्रविधिको सही प्रयोग गरौं लैड्डिकहिंसा अन्त्य गरौं भन्ने नाराकासाथ सुरु भएको अभियान समापन भएको हो ।

कैलाश–९ स्थित कालिका माविबाट सुरु भएको अभियान कैलाश–६ व्यास माविमा समापन गरिएको महिला बालबालिका तथा जेष्ठनागरिक शाखाप्रमुख रमिला सापकोटाले बताइन् । ‘कक्षा ८ देखि १२ सम्मका विद्यार्थी लक्षित अभियान सञ्चालन गरेका थियौं, करिब पाँच सय विद्यार्थीलाई अभियानमा प्रत्यक्ष संलग्न गरियो’ उनले भनिन् । वडा– २ मा रहेको कमलादेवी माविका अध्यक्ष चन्द्र सारुमगरको अध्यक्षता तथा सामाजिक विकास समितिका संयोजक एवम् वडा–२ का वडाध्यक्ष राजेन्द्र घिसिङको प्रमुख आतिथ्यतामा अभियान सञ्चालन गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष घिसिङले शिक्षा भनेको तेस्रो आँखा हुन्, शिक्षाबिना केही पनि गर्न नसक्ने बताए । बाल विवाहले विकराल रुप लिदैँ गइरहेको अवस्थामा बालबालिकाले बालविवाह कानुनी अपराध हो भनेर बुझ्नुपर्ने उनले बताए । उनले बालविवाह मात्र नभई हाम्रो समाजमा प्रविधिको दुरुपयोगले हिंसाको घटना पनि बढिरहेको अवस्था रहेका बताए । सामाजिक सञ्जाल दुरुपयोगले विभिन्न हिंसाको शिकार बालबालिका रहिरहेकाले बालबालिका त्यसतर्फ सजग बन्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा महिला तथा बालबालिका शाखाप्रमुख रमिला सापकोटा, विद्यालयका रामयकवाल यादव, प्रशिक्षक आशिष दुलाल, विद्यालयका शिक्षकको आतिथ्यता रहेको थियो । २२ मंसिरमै कैलाश–६ स्थित व्यास माविका विद्यार्थीको सहभागितामा अभियान सञ्चालन गरी कार्यक्रम समापन गरिएको हो । विद्यालयका सहायक प्रअ प्रकाश परियार, शिक्षक प्रेमबहादुर नेगी लगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी