हेटौँडालाई महिलामैत्री र जलवायुप्रतिरोधी सहरका रूपमा विकास गर्न हेटौँडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपिएस)बिच सम्झौता भएको छ। ‘सिटिज फर वुमन : नेपालमा समावेशी र जलवायुप्रतिरोधी सहरीकरण’ परियोजनाअन्तर्गत गरिएको उक्त सम्झौतामा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार युएनओपिएसले हेटौँडा उपमहानगरपालिकालाई एक लाख ८४ हजार अमेरिकी डलरबराबरको आर्थिक सहयोग उपलब्ध गराउनेछ। सो परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले उक्त रकमको ३० देखि ५० प्रतिशतसम्म लागत साझेदारी गर्नेछ। ‘सिटिज फर वुमन’ परियोजनाको उद्देश्य तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण सिर्जना भएका चुनौतीहरूको सामना गर्न सहयोग पुर्याउनु हो। यसका लागि लैंगिक उत्तरदायी र जलवायुप्रतिरोधी सार्वजनिक खुला स्थानहरूको योजना, डिजाइन र निर्माणमार्फत नगरपालिकाहरूलाई सहयोग गरिनेछ।
युरोपेली संघ र सुओमी फिनल्यान्डको आर्थिक सहयोगमा युएनओपिएस, युएन–ह्याबिटाट र सिटिज एलायन्सद्वारा संयुक्त रूपमा सञ्चालन हुने सो परियोजना चार वर्षको अवधिमा कार्यान्वयन गरिनेछ। हस्ताक्षर कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले सम्झौताले नगरपालिकाका योजनामा समावेशी र जलवायुप्रतिरोधी सहरी विकासलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिन्। उनले उक्त परियोजनाले महिला र अन्य संवेदनशील समुदायहरूलाई नगर योजना प्रक्रियामा सशक्त रूपमा सहभागी गराउने अवसर सिर्जना गर्ने अपेक्षा व्यक्त गरिन्।
नगरप्रमुख लामाका अनुसार सो परियोजनाले हेटौँडाको सहरी पूर्वाधार, खुला स्थान र सामुदायिक पहुँच सुधारका क्षेत्रमा सहयोग पुर्याउनेछ। उनले हेटौँडालाई आधुनिक, सुरक्षित र दिगो सहरका रूपमा रूपान्तरण गर्न यो परियोजनाले महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिन्। नयाँ पत्रिकाबाट











































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्