श्रीकृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा १ भाद्रमा साँस्कृतिक कार्यक्रमसहित घैटो फुटाउने प्रतियोगिता हुने भएको छ । घैटो फुटाउने प्रतियोगिताको अवलोकनका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आउने कार्यक्रम तय भएको छ । दिउँसो २ बजेटबाट परम्परागत घैटो फुटाउने प्रतियोगिता शुरु हुने आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए । वि.सं. २०५४ सालबाट शुरु भएको यस प्रतियोगिताका विजयीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

मेलाकै अवसरमा शिखरकोट स्थित चुनिथान नजिकैको स्टेजजमा साँस्कृतिक कार्यक्रम हुने श्रीकृष्ण जात्रा मुल आयोजक समिती संयोजक यादव रायमाझीले जानकारी दिए । कार्यक्रममा १ भाद्र विहान १० बजे देखि राष्ट्रिय कलाकारहरू रमेशराज भट्टराई, विश्व नेपाली र र्याप गायक सफल बिष्टको प्रस्तुती रहने आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । उनले सम्पुर्णमा सहभागी हुन अध्यक्ष रायमाझीले सबैलाई अनुरोध समेत गरेका छन् ।

यसअघि श्रावण ३० गते प्रथम थाहा फुड फेस्टिभलको उद्घाटनसहित राष्ट्रिय कलाकारहरु धिरज राई, विश्व दोङ, लोकदोहोरी गायक सरोज लामिछाने, प्रतिमा अर्यालले बेजोड प्रस्तुती दिएका थिए भने ३१ श्रावणमा शिखरकोटको कृष्ण मन्दिरमा भव्यताको साथ पुजा आराधानाको साथै विविधि कार्यक्रमहरु भएका छन् । शिखरकोटमा भएको लिटिल राधाकृष्ण, लिटिल लाखे प्रदर्शनले मेला भर्न मन्दिर पुगेकाहरुको ध्यान तानेको थियो । प्रदर्शनीमा १ सय २० जना बालबालिका राधा कृष्णको भेषमा सहभागी थिए । उनीहरु सबैलाई आयोजकले उपहार दिएको थियो । राधा र कृष्णको रुपमा आफ्ना बालबालिकालाई सिंगारेर अभिभावकहरु १ भाद्र विहानदेखि शिखरकोट पुगेका थिए ।

  ५ बर्ष मुनीका बालबालिकाहरुको प्रतियोगिता गराइएको लिटल राधाकृष्ण प्रतियोगितामा लिटिल कृष्ण तर्फ आयान्स कार्की र लिटिल राधा तर्फ राजर्षी रायमाझी प्रथम हुन सफल भएका छन भने लिटल कृष्ण तर्फ दिवान्सु रायमाझी र निर्भिक रायमाझी क्रमशः दोस्रो र तेस्रो हुन सफल भए भने लिटल राधातर्फ सुप्रीया बिष्ट र इयाना रायमाझी क्रमशः दोस्रो र तेस्रो भएको लिटलराधाकृष्णका कार्यक्रम संयोजक नरेन्द्र लामाले जानकारी दिए । थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको आतिथ्यतामा कार्यक्रम भएको थियो भने कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको समेत उपस्थिति रहेको थियो।

त्यसैगरी पालुङ शहरको पालुङ धिमे समूह र गोपाली गाउँको गोपाली धिमे समूहको बाजासहित लिटिल लाखे शिखरकोटमा प्रदर्शनी गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर ५ र ७ को तामाङ बोन्बो संरक्षण समूहको ढ्याङ्ग्रोे झाँक्री नाच, कुन्छाल महिला बाँसुरी समूह, ओखरबजार धिमे समूह, ऋषेश्वर खैजडी महिला समूह र थाहा महिला तथा पुरुष खैजडी भजन समुह र थाहा २ को महिला पन्चेबाजाको प्रदर्शनी समेत रहेको थियो । भजन र बाजामा भक्तजनहरु छमछमी नाचेका थिए ।

पर्वको अवसरमा शिखरकोटमा प्रथम थाहा फुड फेस्टिभल २०८२ मा जातिय खानाहरु तामाङ जातीको खेप्सा लगायत नेवारी परिकारसहित खानाका स्टलहरु समेत राखिएका छन् । योमरीसहित अन्य नेवारी परिकार चाख्नेहरु पनि स्टलमा पुगेका थिए । सो अवसरमा व्यवसायिक स्टलहरु पनि शिखरकोटमा प्रशस्त रहेका छन् । कपडा, जुत्ता, खेलौना, मोबाइलका सामानका स्टलहरुले शिखरकोटको सडक पेटी भरिभराउ भएको छ ।

मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक गोर्खा ब्रुअरी रहेको छ । मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन, बाइरोड, नागरिक समाचार,रेडियो पालुङ, साझाकुरा राष्ट्रिय दैनिक मेलाका अफिसियल मिडिया हुन् । बिगतका वर्षमा भन्दा यो वर्ष बिशेष चहलपहल देखिएको छ ।

पालिका प्रेस
थप जानकारी