मकवानपुरको राक्सिराङ गाउँपालिका–५, ठाडेचुरीमा निर्मित आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेता बानियाँले आयुर्वे प्राचीन मानवीय सेवा प्रणालीको एक प्रभावकारी माध्यम भएको बताए । यसले आधुनिक औषधिले दिने साइड इफेक्टबाट मुक्त जनस्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

बानियाँले कम आय भएका नागरिकका लागि सर्वसुलभ र प्रभावकारी स्वास्थ्यसेवा दिन सकिने औषधालयलाई प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए । स्थानीय तहसँग समन्वय गरेर अस्पतालका अन्य पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उनले राक्सिराङमा वर्षौंदेखिको जग्गाधनी पूर्जासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गरिने बताए । नेता बानियाँले र क्सिराङमा बिगतदेखि प्रदेश सरकारबाट आएको पूर्वाधार बजेटलाई उचित समन्वय गरी आयआर्जन, रोजगारी तथा विकास निर्माणमा जोडिनुपर्नेमा जनप्रतिनिधि गम्भीर र उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

औषधालयमा ओपीडी सेवा, जेष्ठनागरिक तथा स्तनपायी महिलाका लागि विशेष स्वास्थ्य परामर्श, योग तथा पञ्चकर्म सेवा सञ्चालन हुने जानकारी औषधालय प्रमुख कविराज निरीक्षक रामबचन साहले जानकारी दिए । गाउँपालिकाको ३० लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको आयुर्वेद औषधालय २ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको छ । औषधालय निर्माणका लागि आवश्यक जग्गा स्थानीय स्व. रामबहादुर प्रजाले निःशुल्क दान गरेका हुन् ।

गाउँपालिका अध्यक्ष राज कुमार मल्लको सभाध्यक्षतामा भएको समारोहमा गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ, वडा नं. ५ का अध्यक्ष हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, पालिका कर्मचारी र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी