
मकवानपुरको प्रशिद्ध भालेश्वर महादेव मन्दिर दर्शनमा चन्द्रागिरि हिल्सले लगाएको शुल्कको विरोधमा स्थानीयहरुले ज्ञापनपत्र बुझाएका छन् । थाहा र चन्द्रागिरि नगरपालिका तथा इन्द्रसरोवर गाउँपालिकाको क्षेत्रमा निर्माण गरिएको चन्द्रागिरि हिल्सले मन्दिरसम्म जानका लागि समेत पदमार्गीहरुलाई शुल्क लगाएपछि त्यसको विरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् । स्थानीयले चन्द्रागिरि हिल्सका व्यवस्थापक झलक पौडेल मार्फत ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
मकवानपुरको थाहानगर चित्लाङ क्षेत्र, चन्द्रागिरि नगरपालिका र इन्द्रसरोवरका समेत स्थानीयहरु स्वतस्फूर्त रुपमा चन्द्रागिरि हिल्स प्रवेशद्वारमै प्रदर्शन समेत गरेका छन् । उनीहरुले हिल्सका संचालक चन्द्र ढकाल विरुद्ध नारा समेत लगाएका थिए ।
त्यसोतः चन्द्रागिरि हिल्सले भालेश्वर मन्दिरसम्म पुग्नका लागि भक्तजनले प्रतिव्यक्ति एकसय रुपैयाँ तिर्नुपर्ने नियम हाटाएरको पाइएको छ । ‘गत तीनदिनदेखी कुनै पनि रसिद नकाटेको र ढाटमा त्यस्ता रसिदहरु पनि भेटिएन’–स्थानीय विराजन बस्नेतले भने । ९ चैत्र विहानैबाट केही स्थानीयहरुले शुल्क लिन्छ लिँदैन भनेर निगरानी गरेकोमा नलिएको पाइएको बस्नेतको भनाइ छ ।
स्थानीयहरुले हिल्स व्यवस्थापन पक्षलाई विभिन्न ६ बुँदे माग राखी ९ चैत्रमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयले नेपाल सरकारसंग लिजमा लिएको जग्गाको भोगचलनको विवरणसहित सिमाङ्कन सार्वजनिक गर्नुपर्ने, भालेश्वर मन्दिर जान २४सै घण्टा पैदलमार्ग खुला गर्नुपर्ने, हालसम्म पैदलमार्गीबाट असुलेको रकम सार्वजनिक गरी मन्दिरसम्म पुग्ने बाटो बनाउनुपर्ने माग राखेका छन् । त्यस्तै चन्द्रागिरिबाट भालेश्वर हुँदै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ जाने बाटो सँधै खुला राख्नुपर्ने, चन्द्रागिरि हिल्सले थाहा, र चन्द्रागिर नगरपालिका तथा इन्द्रसरोवर गाउँपालिकासँग गरेको सँझौता अनुसार स्थानीयलाई रोजगारी दिनुपर्नेमा के कति पाएका छन् विवरण सार्वजनिक गरी सम्झौता कार्यान्वयन गर्नुपर्ने, वास्तविक भालेश्वरलाई छायाँमा पारी व्यापारिक प्रयोजनका लागि मन्दिर् निर्माण गरिएकोले पुरानो ऐतिहासिक मौलिक मन्दिरलाई निर्माण एवं प्रचार गर्नुपर्ने माग राखेका छन् ।
स्थानीयहरुको मागमा चन्द्रागिरि हिल्स व्यवस्थापनले सकारात्मक जवाफ दिएको बस्नेतको भनाइ छ । स्थानीयहरुको विरोध भेलाले प्रभावित पालिकाहरुका लागि भएका सम्झौताहरु कार्यान्वयन गर्न तथा अन्य सारेकारी विषयहरु क्रमशः उठान गर्ने समेत प्रतिक्रिया जनाएका छन् । चन्द्रागिरि हिल्समा स्थानीयको प्रदर्शन हुने थाहा पाएर कडा सुरक्षा व्यवस्था सहित नेपाल प्रहरी परिचालित समेत थियो ।
यस्तो छ मागहरु:
प्रतिक्रिया दिनुहोस्