हेटौंडा उपमहानगरपालिकालाई १ फागुनमा बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहको रुपमा घोषणा गरिएको छ । सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हेटौंडा–५, स्थित पिप्लेक्याम्पा रंगशालामा नगरप्रमुख मीनाकुमारी लामाको सभाध्यक्षता रहेको घोषणा समारोहमा ताम्रपत्र अनावरण गर्दै हेटौंडालाई ‘निकृष्ट बालश्रम मुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका’ घोषणा गरेका हुन् ।
मन्त्री सिंहले हेटौंडालाई आगामी केही महिनाभित्रै संघीय सरकारले स्थानीय निकायको मापदण्ड अनुसार महानगरपालिकामा रुपान्तरण गर्नेतर्फ प्रतिबद्ध भएको जानकारी गराएका छन् । बागमती प्रदेशका कार्यबाहक मुख्यमन्त्री प्रकाश श्रेष्ठले हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउने सपना रहेको बताए । महानगरको मापदण्ड पूरा गर्न प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने जिम्मेवारीमा कुनै कमी हुन नदिइने प्रतिबद्ध रहेको उनको भनाई छ । कार्यबहाक मुख्यमन्त्री श्रेष्ठले बालमैत्री घोषणालाई घोषणामा मात्र नभई व्यवहारमा पनि कार्यान्वयन गर्न वडा समितिलाई जिम्मेवार बनाउनुपर्ने बताए । कार्यक्रममा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सदस्य तथा पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले बालमैत्री शासनयुक्त पालिका घोषणा भएको हेटौंडालाई दीगो रुपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित पदाधिकारी इमानदारीपूर्वक क्रियाशील हुनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, एकलाल श्रेष्ठ, जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरे, हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँलगायतले आफ्नो धारणा राखेका थिए । बागमती प्रदेशका कार्यबाहक मुख्यमन्त्री श्रेष्ठले हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित विभिन्न टोल विकास समिति, शैक्षिक संस्थालाई प्रमाणपत्र वितरण गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका मकवानपुरको चौथो बालमैत्री स्थानीय तह घोषित भएको छ । यसअघि जिल्लाको मनहरी गाउँपालिका बालमैत्री घोषित देशकै पहिलो गाउँपालिका बनेको थियो । मनहरीपछि मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री पालिका घोषणा भएका थिए । हेटौंडा बागमती प्रदेशको एकमात्र उपमहानगर हो ।
बागमती भित्र चारवटा महानगरपालिका बाहेक सबै नगरपालिका छन् । हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष भन्दा कम उमेर समूहका ५० जार १ सय ९५ जनसंख्या छ । जसमा २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । घोषणाका लागि आवश्यक ५१ वटा सूचकमध्ये उपमहानगरपालिकाले ४३ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको नगरउपप्रमुख बानियाँले बताए । हेटौंडामा २ सय ६५ टोलस्तरीय र १ सय ६ वटा बालसमूह गरी जम्मा ३ सय ७१ वटा बालसमूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बालसमूह सञ्जालसहित बालबालिकाको संरचना क्रियाशील छन् ।
विभिन्न संरचनागत समितिमा ९ हजार २ सय ५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको उपमहानगर प्रवक्तासमेत रहेका १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उपमहानगरलाई बालमैत्री घोषणा पश्चात् दिगोपनाको लागि नगरस्तरीय पञ्चवर्षीय रणनीतिक योजना तयार पारिएको उनले बताए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्