बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखिएको छ । हेटौँडाको औद्योगिक क्षेत्रमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या पाएको हो । प्रदेशमा माटो परीक्षणमा करिब ८० प्रतिशत माटोमा अम्लीयपनाको समस्या देखिएको माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाका कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए । प्रदेशमा माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो चट्टान बन्ने प्रक्रिया र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए ।
कृषिचुनको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले ५० प्रतिशत माटोमा भएको प्राङ्गारिक पदार्थको कमी माटोको दोस्रो ठुलो समस्याका रूपमा रहेकाले गुणस्तरयुक्त प्राङ्गारिक पदार्थको उत्पादन गर्न भकारो सुधार, गहुँतको संरक्षण र सदुपयोग र प्रयोग हुनुपर्नेमा जोड दिए । असन्तुलित रासायनिक मलखादको प्रयोग, परिवर्तित बाली चक्रको अनुसरण र विभिन्न रसायनयुक्त प्रयोगले माटोमा भएको सूक्ष्म जीवाणुको सङ्ख्या न्यून हुँदै माटो मृत अवस्थामा पुग्ने बताउँदै माटोमा सूक्ष्म जीवाणुमलको प्रयोग तेस्रो महत्वपूर्ण विषयका रूपमा रहेको उनको भनाइ छ ।
काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उनले बताए । माटो तथा मल परीक्षण प्रयोगशाला, बागमती प्रदेशले विगत चार वर्षको अवधिमा गरेको माटो परीक्षणबाट उच्च अम्लीयपना देखिएको हो । प्रदेशको २० लाख ३० हजार हेक्टर कुल क्षेत्रफलमध्ये तीन लाख २८ हजार २९७ हेक्टर अर्थात् १६.१७ प्रतिशत भूभाग जमिन खेतीयोग्य छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अनुसार जसमा दुई लाख ८९ हजार ६६२ हेक्टर जग्गामा खेती गरिएको छ । यहाँको उर्वरा जमिनमा अम्लीयपना हरेक वर्ष ८० प्रतिशतको दरमा देखिएको हो ।
गाईवस्तुको मलमा कमी आउनु, झार माटोमै कुहाउन छोड्नु, भाडामा जग्गा लिनेले गाईवस्तुको मल नहाल्नुले माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको प्रयोगशाला प्रमुख डा. खड्का बताउँछन् । माटोमा पाइने नाइट्रोजन, पोटास र फस्फोरसको मात्रा भने स्थिर देखिएको छ । खाद्य तत्व फस्फोरस र पोटासको मात्रा ३० प्रतिशत कमी देखिएको भन्दै खड्काले समस्या नभएको बताए । राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ्क अनुसार प्रदेशका अधिकांश कृषकले माटो परीक्षण नगराएको देखिन्छ । बागमती प्रदेशको कुल कृषक परिवार संख्याको तीन प्रतिशत अर्थात् एक लाख छ हजार कृषक परिवारले मात्रै माटो परीक्षण गराएका छन्।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्