मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटरमा रहेको स्यार्सेकालिका मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । वि.सं. २०५० सालको बाढीले मन्दिर भत्किएको र कालिकाको मूर्ति पुरिएको थियो । सोही स्थानमा नयाँ मन्दिर निर्माण गरिएको गाउँपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिंह घलानले जानकारी दिए । २५ लाख रुपैयाँमा निर्माण भएको मन्दिर निर्माणको लागि गाउँपालिकाले १० लाख र प्रदेश सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

यस्तै मन्दिर संरक्षणका लागि प्रदेश सर कारले १० लाख, विभिन्न व्यक्ति र संस्थाबाट ५ लाख रुपैयाँ प्राप्त भएको पनि उनले जानकारी दिए । वडाध्यक्ष घलानका अनुसार मन्दिर संरक्षण योजना अन्तर्गत खोला नियन्त्रण, चौर सम्याउने, पर्यटकीय तीर्थस्थलको रुपमा विकास गर्न अझै करिब १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । चालू आवमा प्रदेश सरकारकाबाट १४ लाख रुपैयाँ मन्दिर संरक्षणका लागि बजेट विनियोजन भएको पनि वडाध्यक्ष घलानले बताए । यो मन्दिरलाई परापूर्वकालदेखि नै आस्थाकी देबीको रुपमा मानिदै आएको छ । कुनैपनि ब्यक्तिले गरेको भाकल यो मन्दिरमा पूजाआजा गरेपछि भाकल पूरा हुने विश्वासका साथ मकवानपुरका विभिन्न पालिका सहित छिमेकी जिल्ला र भारतका सीमावर्ती सहरबाट समेत भक्तजन आउने गरेको वडाअध्यक्ष घलानले बताए ।

मन्दिरमा चण्डीपूर्णिमा र धान्यपूर्णिमामा विशेष पूजाआजा हुँदै आएको छ । परापूर्वकालमा यसस्थानमा १००८ ऋषिमुनिले तपस्या गरेको जनश्रुति समेत रहेको उनको भनाई छ । स्यार्सेखोला, मनहरीखोला र खादेखोलाको त्रिबेणीमा रहेको मन्दिर मकवानपुरकै प्राचीन खुला शिलामध्ये एक हो । साबिक नामटार गाविसमा रहेको स्यार्सेकालिका मन्दिरमा परापूर्व कालदेखि पुजाआजा हुँदै आएको स्थानीयले बताएका छन् । स्यार्से कालिकादेवीसामु मागेको कुरा पूरा हुने जनविश्वाससहित पूजाआजा गर्न भक्तजन टाढाटाढाबाट आउने गरेका छन् । भाकल गरेकाहरु मन्दिरमा धान्यपूर्णिमाका दिन बिशेषरुपमा आउने गरेका छन् । धान्यपूर्णिमाको समयमा मन्दिरमा जान नभ्याउनेहरु चण्डीपूर्णिमा जाने गरेका छन् । २०५० साल अघि यो मन्दिर रहेको स्थानमा प्राकृतिक शीला थियो । त्रिभुवन राजपथको चुनियाँबाट करिव ६ किमि यात्रापछि स्यार्सेकालीका पुग्न सकिन्छ ।