पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा अवस्थित एशियाकै ठूलो महाशिला (ढुंगा) मा करोडौंको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ । सडक मार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएको हो । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको गरी सात करोडभन्दा बढीका विभिन्न संरचना निर्माण गरिएको हो ।

सदरमुकाम कुश्मा बजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुंगा स्थानीयस्तरमा मेहलढुंगाको नामले समेत परिचित छ । एशियाकै ठूलो महाशिला भएकाले यसलाई अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए । उनका अनुसार महाशिलामा अहिलेसम्म झण्डै सात करोड रुपैयाँभन्दा बढीका पूर्वाधार निर्माण भइसकेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् चार करोड १२ लाख रुपैयाँको लागतमा पर्यटकका लागि सुविधा सम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा डेढ करोड रुपैयाँको लागतमा एक सय आठ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षण लगायतका पूर्वाधार तयार गरिएको छ ।

यस्तै नेपाल पर्यटन बोर्डमार्फत् ११ लाख रुपैयाँको लागतमा ट्रष्ट भवन बनाइएको छ भने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत संघीय मन्त्रालयमार्फत् डेढ करोड रुपैयाँ विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार उक्त बजेटले महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिद लगायतमा खर्चिने भएको छ ।

केही वर्ष अघिसम्म आवश्यक प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ । लुंखुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायतका जिल्लाबाट सिधै पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताइन् । अधिकारीका अनुसार यो महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किम्वदन्ती छ ।

एक पटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्ने उनले बताइन् । ‘बाबुबाजेका पालामा पुजारी बसेर पूजापाठ गरे पनि पछिल्लो समय हराउँदै गएकोमा स्थानीय महाशिला गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै यसको विकास गर्न थालेका हुन् । अहिले यहाँ नियमित पूजापाठसमेत हुने गर्दछ । एशियाकैै सबैभन्दा ठूलो भएर पनि उचित प्रचारप्रसार हुन नसकेको यो महाशिला पछिल्लो समय निर्माण गरिएका आकर्षक संरचनाले पर्यटक तान्न थालेको अधिकारीले बताइन् ।

उनका अनुसार यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीया लगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । महाशिला गाउँपालिकाको नामाकरणसमेत यही शिलाको नामबाट गरिएको हो । १३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयबासीले नि:शुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए ।

पालिका प्रेस
थप जानकारी