कर्णाली प्रदेशमा अझै पनि ८२.२ प्रतिशत जनसंख्या दाउरामा निर्भर रहेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको २०८०/८१ को मूल्यांकन प्रतिवेदनले सो कुरा देखाएको हो । देशकै भूगोलका हिसाबले ठूलो मानिएको डोल्पामा सबै भन्दा कम जनसंख्या रहेको प्रतिवेदनमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले जानकारी दिए ।

मन्त्रालयले १० जिल्ला मध्ये सबैभन्दा बढी जनसंख्या सुर्खेत र सबै भन्दा कम डोल्पामा रहेको सर्वेक्षणबाट आएको उनले जानकारी दिए । विगत १० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर सुर्खेतमा भएको छ भने दैलेख र सल्यानमा घटेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा परिवारको संख्या ३ लाख ६६ हजार २५५ रहेकोमा राष्ट्रिय जनगणना २०६८ मा परिवार संख्य २ लाख ९८ हजार ३५९ रहेको थियो ।

प्रदेशको कुल जनसंख्या मध्ये शहरी जनसंख्या ५२.१ प्रतिशत रहेकोमा ग्रामिण जनसंख्य ४७.९ रहेको छ । यहाँका २५ वटा नगरपालिकामध्ये वीरेन्द्रनगरको १ लाख ५३ हजार ८६३ रहेको छ । डोल्पाको ९ हजार ८६१ रहेको छ । कर्णालीमा अझै पनि घरको छाना, खर, पराल, छवाली रहेको परिवारको संख्या ६.५ प्रतिशत रहेको छ । सर्वेक्षणले ८२.२ प्रतिशत जनसंख्याले काठ दाउराको प्रयोग गरेर खाना पकाउने गरिरहेको मन्त्रालयले जनाएको छ ।

विद्युत पहुँचमा कमजोर रहेको कर्णालीमा विद्युत प्रयोग गर्ने परिवारको संख्या ४९.६ प्रतिशत रहेको छ । त्यस्तै सौर्य ऊर्जा प्रयोग गर्नेको संख्या ४९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सबै ठाउँमा फोन नलाग्ने कर्णालीमा ८२.२ प्रतिशतले फोन प्रयोग गर्ने गरिरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । कर्णालीमा साक्षरता दर ७६.१ रहेकोमा सबैभन्दा बढी साक्षर भएको जिल्ला सुर्खेतमा ८२.७ र सबै भन्दा कम साक्षर भएको जिल्ला हुम्ला रहेको छ ।

हुम्लामा साक्षरता दर ६३.८४ रहेको छ । ७९ स्थानीय तह मध्ये सबैभन्दा बढी साक्षर भएको पालिका वीरेन्द्रनगर हो । यसको साक्षरता दर ८७.१६ प्रतिशत र सबै भन्दा कम साक्षरता भएको पालिका डोल्पाको शे फोक्सुण्डो गाउँपालिका रहेको छ । यसको ४५.३ प्रतिशत रहेको छ । विगत १० वर्षमा कर्णालीका ७९ स्थानीय तह मध्ये ५५ स्थानीय तहको जनसंख्या बढेको छ भने २४ स्थानीय तहको घटेको छ । सबै भन्दा बढी जनसंख्य वृद्धि दर भएको स्थानीय तह वीरेन्द्रनगरमा वार्षिक जनसंख्या बृद्धिदर ४.०९ रहेको छ ।

सबैभन्दा बढी जनसंख्या घटेको स्थानीय तह दैलेखको भैरवी गाउँपालिका रहेको छ । त्यहाँको वार्षिक जनसंख्या वृद्धिदर १.१८ प्रतिशत रहेको मन्त्रालयको सर्वेक्षणले जनाएको छ । कर्णालीको मातृदर १७२ रहेको छ । कर्णालीमा ८७.३ प्रतिशत बालबालिको मात्र जन्मदत्र्ता हुने गरेको छ । कर्णालीका १० जिल्लामा सबैभन्दा बढी जन्मदत्र्ता हुने जिल्लामा कालिकोट रहेको छ । कालिकोटको ९४.४ प्रतिशत बालिबालिकाको जन्म दत्र्ता भएको छ । सबै भन्दा बढी जनसंख्य भएर पनि कम जन्मदत्र्ता गर्ने जिल्लामा सुर्खेत रहेको छ ।

यहाँको ७६.८ प्रतिशत बालबालिकाको मात्र जन्म दत्र्ता भएको छ । त्यस्तै कर्णालीमा कुल जनसंख्याको ३.१२ प्रतिशत अपाङगता भएका व्यक्तिहरु रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको छ । सबैभन्दा बढी अपांगता भएको जिल्ला जाजरकोट रहेको छ । जाजरकोटको ४.९४ प्रतिशत अपाङगता रहेको छ । सबैभन्दा कम अपांगता भएको जिल्ला जुम्ला रहेको छ । जुम्लाको २.२९ प्रतिशत अपांगता भएको पाइएको छ ।

पालिका प्रेस
थप जानकारी