मकवानपुरमा बन्चरो प्रहार गरेर पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका युवालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले कैलाश गाउँपालिका–५ कालीखोलास्थित काफलडाँडाकी २२ वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरेको आरोपमा २६ वर्षीय पति मंगलबहादुर पाख्रिनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

मंगलबहादुरले गत साउन ३० गते घरभित्रै पत्नीलाई बन्चरो प्रहार गरी हत्या गरेपश्चात कालीखोला सामुदायिक वनको जंगलमा गाडेका थिए । प्रहरीका अनुसार उनले आफू अपराधबाट बच्नका लागि पत्नीको शवलाई २ वटा बोरामा प्याक गरेर घरनजिकै जंगलमा खाल्टो खनेर गाडेको पाइएको थियो । पत्नीको कपडाहरु पनि शव गाडेको स्थान भन्दा केही पर बोरामा हालेर खाल्टोमा पुरेका थिए । हत्या गर्न प्रयोग गरिएको बन्चरोको बीड फुकालेर जंगलमै खाल्टो खनेर लुकाएका थिए । उनले पत्नीको हत्या गरेको कुरा छिमेकीले थाहा पाएपछि इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरिदिएका थिए । गाउँलेको सहयोगमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो ।

पालिका प्रेस
थप जानकारी