बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ सकिन तीन महिना मात्रै बाँकी हुँदा ६७ करोड बराबरका ४३७ वटा टुक्रे योजना थपेको छ । यसरी थपिएका योजना मध्ये मकवानपुरका लागि १९ वटा योजना प्रस्ताव गरिएको छ । ३ करोड ४ लाख रुपियाँ बराबरको योजना मकवानपुरका लागि प्रस्ताव गरिएको छ ।
थप गरिएका योजना ५ लाखदेखि ५० लाख बजेटसम्मका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ र २० चैतमा दुई पटक गरेर सम्बन्धित मन्त्रालयमा थपिएका योजना प्रदेश सरकारको बजेट सूचना प्रणाली (पीएलएमबीआईएस)मा प्रविष्ट गर्न पत्राचार गरेको छ । योजना प्रविष्ट भएपछि मन्त्रालयले माग गरेको बजेट आर्थिक मामिला मन्त्रालयले उपलब्ध गराउने मन्त्रालयका उपसचिव लक्ष्मी रिमालले जानकारी दिए ।
स्रोतका अनुसार मकवानपुरका १० मध्ये ५ वटा पालिकाको लागि मात्र बजेट तथा योजना प्रस्ताव गरिएको छ । १९ योजना मध्ये थाहा नगरपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको लागि १÷१ वटा योजना रहेको छ भने मनहरी गाउँपालिकाको लागि २ वटा योजना छनोट भएको छ भने बाँकी सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका लागि योजना छानिएका छन् ।
छनोटमा परेका योजनाहरुमा आलडाँडा कृषि सडक योजना नमुना टोल स्ल्याब ढलान मकवानपुरगढी–४ का लागि २० लाख, नगरस्तरीय खेलकुद मैदान निर्माण झम्केश्वरी थाहा–१ ओखरबजारका लागि २५ लाख, स्यार्से कालिका मन्दिर निर्माण कैलाश ९ का लागि २० लाख, सामुदायिक वन काष्ठ समिल उद्यम सहकारी मनहरी ९ ज्यामिरेको लागि १० लाख र मदनभण्डारी क्षेत्रिय रैडशालाका मनहरी ७ का लागि २० लाख रुपियाँ बजेट प्रस्ताव गरिएको छ ।

त्यसैगरी कालापानी छिरीटोल सक्रिय टोल विकास संस्थाको बाटो हेटौंडा–१४ का लागि २० लाख, पाथीभरा टोल विकास देखि भोम्जन टोल जाने बाटो स्तरीकरण हेटौंडा–१४ का लागि २० लाख, कल्याणटार गाँडे खोल्साबाट बंगुर खोल्सासम्म जाने बाटो स्तरीकरण हेटौंडा १२ का लागि २० लाख, अर्थसिद्धि मार्ग स्ल्याब ढलान हेटौंडा ५ का लागि १० लाख, दिव्य सेवा निकेतनदेखि ठाडो बाटो स्तरीकरण हेटौंडा–१५ का लागि २० लाख , नागस्वती ब्याडमिन्टन हलको अधुरो काम पूरा हेटौंडा ७ का लागि २४ लाख, बुद्धिचाल खेल प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम हेटौंडा चेस क्लब १० लाख, ओम वृद्धाश्रम भवन निर्माण हेटौंडा २ का लागि १५ लाख, विलाल मस्जीद भवन निर्माण हेटौंडा ४ का लागि १५ लाख बजेट प्रस्ताव गरिएको स्रोतले बतायो ।
शंखधर साख्वा पार्क तारबार तथा संरक्षण हेटौंडा १२ का लागि १५ लाख, लालझाडी मैनाटार मोटर सिंचाइ योजनाका लागि १० लाख, डा. टोनी हेगन स्मृति पार्क अधुरो निर्माण कार्य हेटौंडा १० को लागि १० लाख, कमल सिमसार पार्क हेटौंडा ८ मैदाटोलका लागि १० लाख र जनजागृति मावि मा डेस्कबेन्चको व्यवस्थापन हेटौंडा १५ का लागि १० लाख बजेट प्रस्ताव भएको जनाइएको छ । यद्यपि बागमती प्रदेशले थप बजेटबाट कुन कुन योजनामा बजेट विनियोजन गरेको भन्ने विवरण अझै सार्वजनिक गरेको छैन ।
आर्थिक मामिला मन्त्रालयसँग अर्थ विविध शीर्षकमा ४ अर्ब २६ करोड ५० लाख ३ हजार ८५ रुपैयाँ बजेट छ । जसमध्ये चालूतर्फ ३ अर्ब २७ करोड १३ लाख ८३ हजार ८५ र पुँजीगततर्फ ९९ करोड ३६ लाख २० हजार बजेट छ । थपिएकामध्ये ३२ करोडका मात्रै पूर्वाधारका योजना छन् । भौतिक पूर्वाधार विकास कार्यालयले दिएको जानकारीअनुसार १६३ वटा योजना १३ वटा कार्यालयबाट कार्यान्वयन गर्ने गरी ३२ करोडको योजना थप भएर आएको हो ।
बागमती प्रदेशका तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दल राप्रपासँगको सहमतिअनुसार सरकारले योजना थप गरेको हो । १७ फागुनमा बसेको प्रदेशसभा बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सरकारले विपक्षी दल नेकपा एमाले र राप्रपाको सांसदहरुको योजना समेट्न गरेको लिखित सहमति कार्यान्वयनका लागि संसदीय विशेष समिति गठन गरेको थियो । बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिले २९ फागुनमा सभामुखलाई प्रतिवेदन बुझाउँदै थपिएका आयोजनाहरुमा प्रस्ताव गरिएको बजेट अर्थ विविध वा अन्य शीर्षक अन्तर्गतको पुँजीगत तर्फको विनियोजित रकमबाट रकमान्तर गर्न सुझाव दिएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्