हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देलसहितको टोलीले शैक्षिक संस्था क्षेत्र १ सय मिटर वरिपरी मद्यपान र धुम्रपान बिक्री वितरण नगर्न अनुरोध गर्दै घरदैलोमा निस्किएको छ । कानुनतः शैक्षिक संस्थाहरुको वरपर १ सय मिटरभित्र मद्यपान र धुम्रपान बिक्री वितरण गर्न निषेध छ । तर, ४ नम्बर वडाका अधिकांश शैक्षिक संस्था नजिक यस प्रकारका क्रियाकलाप भएको गुनासोपछि वडाअध्यक्ष सिग्देल नेतृत्वको टोली अनुगमनसहित अनुरोध गर्न घरदैलोमा हिँडेको हो ।

श्रमिक मावि, ब्रम्हदिक एकेडेमी, नवदोय मावि, हेटौंडा क्याम्पस, आधुनिक मावि, स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी माविको क्षेत्रमा सोमबार सचेतनास्वरुप घरदैलो गरिएको वडाध्यक्ष सिग्देलले जानकारी दिए । घरदैलोको क्रममा बालश्रम, लैंगिकहिंसा, लागूऔषधविरुद्व स्टिकर समेत विभिन्न स्थानमा टाँसिएको थियो । विद्यालय क्षेत्र वरिप िमध्यपान र धुम्रपानमुक्त बनाउनु, विद्यालयलाई शान्ति क्षेत्र बनाउनु र लागूऔषध, लैंगिकहिंसा, बालश्रमविरुद्व अभियान रहेको वडाअध्यक्ष सिग्देलले बताए । कार्यक्रममा जनप्रतिनिधिहरु, टोल विकासका प्रतिनिधिहरु, महिला तथा बालबालिका सरोकार केन्द्र, सामाजिक अभियान सञ्जाल हेटौंडा– ४, नेपाल प्रहरी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडासदस्य जगन्नाथ पाण्डे, सामाजिक अभियान सञ्जाल, हेटौंडा–४ की अध्यक्ष माया लामा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ का संयोजक श्रीराम दाहाल, श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, सहायकप्रमुख अर्पण पराजुली, महिला तथा बालबालिका सरोकार केन्द्र, मकवानपुरकी अध्यक्ष सरु सिलवाल लगायतको सहभागिता रहेको वडासचिव टीका कंडेलले बताए ।

पालिका प्रेस
थप जानकारी