स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा थाहा नगरपालिकामा समिक्षा कार्यक्रम भएको छ । थाहा नगरपालिकाका वडाध्यक्ष, स्वास्थ्य संस्था प्रमुख, पालिकाका कर्मचारीहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको समेत उपस्थितीमा पालिकास्तरमा खोप कार्यक्रमको समिक्षा तथा खोप दिगोपना र सरसफाई प्रवद्र्धनका लागि योजना तयारी गोष्ठी ११ पुसमा भएको हो ।

कार्यक्रममा थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामी, वडाध्यक्षहरु तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । सहभागीहरुलाई स्वास्थ्य कार्यालय मकवानपुरका खोप फाकल पर्सन बासुदेव रिमाललगायतकाले सहजीकरण गरेका थिए ।

सो अवसरमा थाहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणाका लागि कार्य योजना बनाइएको छ । कार्ययोजना अनुसार थाहानगरमा पुस महिनाभरीमा खोप सम्बन्धी सुक्ष्म योजना निर्माण गर्ने, माघमा वडास्तरीय खोप समन्वय समिति तथा वडाका खोप सम्बन्धी सरोकारवालाहरुबीचमा अभिमुखीकरण गरिने छ ।

नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणाका लागि फागुन महिनामा समुदायमा खोजी गर्ने तथा चैत्रमा घरधुरी सर्भेक्षण गरिने स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । २०८० वैशाखमा नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिने योजना बनाइएको प्रमुख बलामीले जानकारी दिए । वैशाख महिना खोप महिना पनि भएकोले यसै महिना छुटेका सबै बालबालिकालाई खोप लगाएर घोषणा गर्ने तालिका बनाइएको उनले बताए ।

पालिका प्रेस
थप जानकारी