नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार, शिक्षासेवी कौशल पाण्डेको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा १० कात्तिक अपराह्न उनको निधन भएको हो ।

७५ वर्षका पाण्डेको लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यका अनुसार तर, पछिल्लो केही सातादेखि स्वास्थ्यअवस्था जटिल बनेको थियो । उनी श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । उनको ११ कात्तिक बिहान ८ बजे अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

मकवानपुरको पत्रकारिता विकासमा पाण्डेको विशेष योगदान रहेको थियो । उनले सधैँ शासनबाट उत्पीडनमा पारिएकाहरूको पक्षमा कमल चलाउँदै आएका थिए । उनी हेटौंडामा धेरै वर्ष शिक्षण पेशामा पनि आवद्य भएका थिए । हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा लामो समय अध्यापन गराएका पाण्डे त्यहाँबाट अवकास पाएपछि पूर्ण रूपमा पत्रकारितामा सक्रिय थिए ।

उनको प्रकाशन सम्पादनमा मकवानपुरको पुरानोमध्येको एक ‘प्रयास अर्धसाप्ताकि’ प्रकाशन हुँदै आएको छ । २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुरको सभापति भएका पाण्डे २००४ साल पुस १५ गते जन्मिएका थिए । क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सल्लाहकार एमव् मकवानपुरका संस्थापक अध्यक्ष पाण्डे साहित्यकारको रुपमा पनि परिचित नाम हो । हेटौंडाबाट प्रकाशन हुने प्रयास साप्ताहिकका प्रकाशक सम्पादक रहेका पाण्डे प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए । पालिका प्रेस डटकम पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

पालिका प्रेस
थप जानकारी