संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको ३० कात्तिक बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले भने ।
उपचारकै सिलसिलामा आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको प्रसाईंले जानकारी दिए ।
उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।
२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।
उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध थिए ।
किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्