पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीलक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा कक्षा १२ उत्तीर्ण विद्यार्थी, उत्कृष्ट विद्यालय र उत्कृष्ट विद्यार्थीलाई सम्मानसहित अभिमुखीकरण गरेको हो ।

कार्यक्रममा विशिष्ट अतिथि थाहानगर शिक्षा, युवा तथा खेलकुद शाखाअधिकृत सूर्यबहादुर थिङले गाउँमै रहेको विश्वविद्यालय शिक्षाको अवसरलाई नगुमाउन आग्रह गरे । क्याम्पस अध्यक्ष प्रधानले जुनसुकै पेसा व्यवसायमा आवद्ध हुन चाहेको भएपनि विश्वविद्यालय शिक्षालाई निरन्तरता दिन आग्रह गरे । प्रधानले आर्थिक बिपन्नता भएका विद्यार्थीलाई उचित छात्रवृत्ति समेत उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरे । क्याम्पसप्रमुख राजन मिश्रले पालुङ क्याम्पसको राष्ट्रिय नतिजाभन्दा सधैं उत्कृष्ट नतिजा आइरहेको बताउदै गाउँमै पढ्न प्राथमिकता दिन आग्रह गरे ।

बज्रबाराही मावि व्यवस्थापन समिति अध्यक्ष विक्रम जोशी, जनकल्याण माविका प्रधानाध्यापक रामकुमार बल, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष कृष्णबहादुर विष्ट, क्याम्पस उपाध्यक्ष राजिवकुमार स्याङ्तानले विश्वविद्यालय शिक्षाको महत्व दर्शाउदै गाउँकै क्याम्पसलाई प्राथमिकता दिन आग्रह गरे । अभिमुखीकरणको सहजीकरण क्याम्पसका सहप्राध्यापक कुमार नेगीले गरेका थिए ।

थाहानगरका विभिन्न विद्यालयबाट नियमिततर्फ यसवर्ष कुल १ सय ३१ जना विद्यार्थी उत्तीर्ण हुँदा बागेश्वरी माविले ८५ दशमलब ७१ प्रतिशत सहित उत्कृष्टता हासिल ग¥यो भने जनकल्याण माविकी छात्रा निकिता कार्कीले ३ दशमलब ६५ जीपीएसहित उत्कृष्ट हुन सफल भएका थिए ।

पालिका प्रेस
थप जानकारी