बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा अपेक्षित राजस्व लक्ष्यको करिब ४१.४० प्रतिशत मात्र संकलन गरेको छ । यस अवधिमा प्रदेशले २७ अर्ब ९३ करोड ३० लाख २ हजार रुपैयाँ राजस्व उठाएको देखिन्छ। प्रदेशको आम्दानीमा घरजग्गा दर्ता (मालपोत) र सवारीसाधन कर प्रमुख स्रोतका रूपमा रहेका छन्।

आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि चैतसम्म कुल ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको थियो। तर उक्त लक्ष्यको ५५.०७ प्रतिशत मात्रै, अर्थात् १७ अर्ब १ करोड २ लाख ६३ हजार रुपैयाँ संकलन भएको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

प्रदेशको आन्तरिक स्रोततर्फ, चालु वर्षका लागि ८ अर्ब २५ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएकामा हालसम्म ५ अर्ब ६ करोड ५२ लाख ६२ हजार रुपैयाँ संकलन भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा ५ अर्ब ६९ करोड ६ लाख ७२ हजार रुपैयाँ मात्र प्राप्त भएको छ।

अन्तशुल्कतर्फ ४ अर्ब ३ करोड ७९ लाख ९ हजार रुपैयाँ उठ्ने अपेक्षा गरिएको थियो, तर हालसम्म १ अर्ब ९९ करोड १५ लाख ५६ हजार रुपैयाँ मात्र संकलन भएको छ। संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ आउने अनुमान रहेकामा नौ महिनामा ५३.६० प्रतिशत, अर्थात् ७ अर्ब ९४ करोड २७ लाख ५६ हजार रुपैयाँ प्राप्त भएको अधिकृत सञ्ज्यालले जानकारी दिए।

त्यस्तै, प्रदेशको आफ्नै स्रोतबाट ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा २ अर्ब ८५ करोड ८१ लाख ५६ हजार रुपैयाँ (५९.८३ प्रतिशत) मात्र उठेको मन्त्रालयले जनाएको छ।

राजस्व संकलन लक्ष्यभन्दा कम हुनुका पछाडि आर्थिक तरलताको समस्या, घरजग्गा कारोबार तथा नयाँ सवारी साधन खरिद–बिक्रीमा आएको गिरावट, साथै भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनका क्रममा राजस्व संकलन गर्ने निकायहरूमा भएको क्षति जस्ता कारणहरू जिम्मेवार रहेको उल्लेख गरिएको छ।

पालिका प्रेस
थप जानकारी