राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका सम्बन्धमा सरोकार वाला निकायबीच हेटौंडामा अन्तरक्रिया तथा छलफल गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा १८ चैत्रमा आयोजित कार्यक्रममा आर्थिक गणना समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षता एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको प्रमुखअतिथ्यता रहेको थियो ।

आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि मकवानपुरमा कुल ६८ जना जनशक्ति परिचालन गरिने भएको छ । आर्थिक गणना कार्यालयका रुद्र बोगटीका अनुसार ९ जना सुपरभाइजरसहित ५९ जना गणक खटिनेछन् । स्थानीय तहअनुसार हेटौंडा उपमहानगरमा सबैभन्दा बढी ३२ गणक परिचालन गरिनेछ । नेपालमा वि.सं २०७५ मा पहिलोपटक सुरु गरिएको आर्थिक गणना यसवर्ष दोस्रोपटक हुन लागेको हो ।

नाङ्लोमा पसल राख्ने साना व्यवसायदेखि ठूला उद्योग प्रतिष्ठानसम्म सबै प्रकारका औपचारिक तथा अनौपचारिक आर्थिक गतिविधि गणनामा समेटिनेछन् । दर्ता भएका वा नभएका, आर्थिक कारोबार गर्ने सबै प्रकारका व्यवसायको विवरण संकलन गरिने जनाइएको छ । आर्थिक गणनाको मुख्य उद्देश्य देशभर सञ्चालनमा रहेका आर्थिक गतिविधिको आधारभूत विवरण संकलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गर्नुका साथै कुलगार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखाप्रणालीलाई सुदृढ बनाउन आवश्यक तथ्यांक उत्पादन गर्नु रहेको छ । यसअघि वि.सं २०७५ मा गरिएको गणना अनुसार मकवानपुरमा १६ हजार प्रतिष्ठान तथा व्यवसाय दर्ता भएका थिए, जसमा ४६ हजार ५८२ जनशक्ति कार्यरत थिए । तीमध्ये ७ हजार ५९६ मात्रै औपचारिकरुपमा दर्ता भएको पाइएको थियो ।

पालिका प्रेस
थप जानकारी