मकवानपुर थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले थाहानगर उद्योग वाणिज्य संघसँग स्थानीय सरकारको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले थाहा नगरको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सकिने धारणा राखे । थाहानगर उद्योग वाणिज्य संघको १०औँ वार्षिक साधारणसभामा बोल्दै विष्टले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका विष्टले नगरपालिकाले व्यवसायमैत्री नीति, आवश्यक पूर्वाधार निर्माण तथा सहजीकरणमा जोड दिने बताउँदै संघसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट गरे ।
साधारण सभाको औपचारिक सत्रमा संघका महासचिव जर्म श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष संघले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराए । श्रेष्ठले संघले व्यवसायीहरूको समस्या समाधान, विभिन्न सरोकारवाला निकायसँग समन्वय, सीपमूलक तालिम, बजार व्यवस्थापन, कर तथा नीतिगत विषयमा परामर्श जस्ता क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए ।
त्यसैगरी कोषाध्यक्ष प्रदीप प्रधानले आर्थिक वर्षको आय–व्यय विवरणसहितको वित्तीय प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा संघको आर्थिक अवस्था सन्तोषजनक रहेको जानकारी दिँदै पारदर्शिता, अनुशासन र जिम्मेवारीपूर्ण आर्थिक व्यवस्थापनलाई प्राथमिकता दिइएको उल्लेख गरे । सभाले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको थियो।

सभाध्यक्ष तथा संघका अध्यक्ष पुरुषोत्तम ढकालले आफ्नो भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघको मूल उद्देश्य स्पष्ट पारे । उनले भने, “संस्थाको मूल लक्ष्य व्यावसायिक मैत्री वातावरण निर्माण गर्नु, स्थानीय उद्योग तथा व्यापारको संरक्षण, संवद्र्धन र दिगो विकास गर्नु हो।” उहाँले संघको पहिलो प्रतिबद्धता व्यवसायमैत्री वातावरण सुदृढ बनाउने, प्रविधिमैत्री सीप विकास कार्यक्रम सञ्चालन गर्ने, पर्यटन, कृषि र उद्योगको एकीकृत विकासलाई जोड दिने, स्थानीय उत्पादन र लगानी प्रवद्र्धन गर्ने तथा समावेशी उद्यमशीलतालाई प्रोत्साहन गर्ने रहेको बताए । उनले थाहा नगरलाई सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्न निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बजार व्यवस्थापन, पूर्वाधार विकास, डिजिटल प्रविधिको उपयोग, युवालाई उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रम तथा महिला र साना व्यवसायीलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरिने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले संघ र स्थानीय सरकारबीचको सहकार्यले मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै थाहा नगरलाई व्यवसायिक केन्द्रका रूपमा स्थापित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रमको अन्त्यमा संघका वरिष्ठ उपाध्यक्ष शम्भु सी. कार्कीले धन्यवाद ज्ञापन गरे । साधारणसभाका अतिथीहरुले मन्तव्यको क्रममा आगामी दिनमा अझ सक्रिय, सशक्त र परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरे । २४ माघमा भएको साधारणसभामा व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन, उद्यमशीलताको विकास र लगानीमैत्री वातावरण निर्माणमा संघले अझ सशक्त पहल गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

सभा संघका अध्यक्ष पुरुषोत्तम ढकालको सभाध्यक्षतामा भएको थियो ।सभामा नेकपा (एमाले) थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली कांग्रेस थाहा नगर उपसभापति नवराज कार्की, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष तथा थाहा नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कविराज खत्री, नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेशका सदस्य जीवनकाजी माकजु, शिखर बचत तथा ऋण सहकारी संस्था अध्यक्ष मनोज रायमाझी, मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका संस्थापक अध्यक्ष विमलकुमार ढकाल लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।































































प्रतिक्रिया दिनुहोस्