आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौला यतिबेला मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । १७ माघमा थाहा नगरपालिकाको बिसिंखेलमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बर्तौलासँगै एमालेका प्रभावशाली नेता गोकुल बास्कोटा समेत सहभागी हुनुभएको छ ।

​भेटघाटका क्रममा उम्मेदवार बर्तौलाले आफ्नो विगत ३२ महिनाको कार्यकालको समीक्षा गर्नुभयो । उहाँले भन्नुभयो: “मैले सदनमा प्रभावकारी नीति निर्माण र यस क्षेत्रको भौतिक तथा सामाजिक विकासमा इमान्दार भएर प्रयास गरेको छु । अधुरा योजना पूरा गर्न र थाहा नगरलाई थप समृद्ध बनाउन मेरो उम्मेदवारी हो ।”

​बर्तौलाले शिक्षा क्षेत्रको विकास विना समाजको उन्नति सम्भव नभएको बताउँदै शुभचिन्तकहरू माझ झम्केश्वरी माध्यमिक विद्यालयमा छात्रावास निर्माणको पहल कदमीबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता गोकुल बास्कोटाले विगतको तुलनामा थाहा नगरको विकास लोभलाग्दो भएको टिप्पणी गर्नुभयो । ३० वर्षअघि चित्लाङ आएको सम्झना गर्दै पुरानो थाहा र अहिलेको थाहामा जमिन-आसमानको फरक रहेको बताउँदै उहाँले भन्नुभयो: “तपाईंहरू महेश बर्तौलालाई जिताएर पठाउनुस्, विकासको जिम्मा हामी लिन्छौं ।” चित्लाङमा माछा खाएको पुराना दिनहरू स्मरण गर्दै उहाँले ‘मदन भण्डारी युनिभर्सिटी मकवानपुर र थाहले पाएको छ । यसबाट धेरै लाभ लिन सक्नुपर्छ ।”

​थाहा नगरपालिका वडा नम्बर १० का अध्यक्ष हिरा बहादुर गमालले २०७९ को निर्वाचनपछि थाहा नगरले विकासको सही बाटो समातेको बताउनुभयो। विशेषगरी चित्लाङ-चन्द्रागिरी-थानकोट सडकका लागि ५२ करोडको ठेक्का व्यवस्थापन गरी काम अघि बढाएकोमा उहाँले बर्तौलाको प्रशंसा गर्नुभयो ।

​निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले आफ्नो पक्षमा जनलहर सिर्जना गर्न शुभचिन्तक भेटघाटलाई तीव्रता दिएको छ ।

पालिका प्रेस
थप जानकारी