नेपाली कम्युनिस्ट पार्टी (नेकपा) थाहा नगरपालिकाले मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लवशेर बिष्टको चुनावी अभियानलाई शुभारम्भ गरेको छ । उमेदवार विष्टलाई विजयी गराउने उद्देश्यसहित सांसदको भूमिका कानून निर्माण र विकासमा दुवै हुने उल्लेख गर्दै सोही एजेण्डासहित नेकपा थाहानगरले चुनावी अभियानको औपचारिक सुरुवात गरेको हो ।

थाहानगरको पालुङ जेसिज सभाहलमा भएको भेलाले बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । थाहा नगरपालिकाका १२ वटै वडामा पार्टी संयोजकहरूको नेतृत्वमा वडा–गत निर्वाचन परिचालन समिति गठन गरिएको नेकपाका नगर संयोजक बिनोद कुमार लामाले दिए । जनवर्गीय संगठनहरूलाई समेत आ–आफ्नो जिम्मेवारी तोकी परचालन गरिने संयोजक लामाले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार लवशेर बिष्टले मकवानपुर क्षेत्र नम्बर २ को सर्वाङ्गिण विकासका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे । विष्टले जनताको आवश्यकता र समावेशी विकासलाई केन्द्रमा राखेर राजनीति गर्ने धारणा राखे । पहुँचका भरमा हुने विकासका कारण आम नागरिकलाई विकासको अनुभूति हुन नसकेको बताउँदै उनले ति नागरिकलाई विकासको मूल प्रवाहमा ल्याइने उल्लेख गरे ।

नेकपा थाहा नगरकमिटीका संयोजक बिनोद कुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेताहरू प्रल्हाद लामिछाने, माधव तिमिल्सिना, गौतम बुद्ध लामा, रामचन्द्र बल, वीर बहादुर घलान ‘ज्वाला’, निर्वाचन परिचालन समिति मकवानपुर–२ का उपसंयोजक किश्वर बर्तौला, पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा नगर तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी