नेपाली कांग्रेसले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । कांग्रेसले यसपटक जनजाति र महिलालाई प्राथमिकता दिँदै उम्मेदवार अघि सारेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुवै निर्वाचन क्षेत्रमा उमेदवार दर्ता गराएको हो ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले उम्मेदवारी दर्ता गराएकी छन् । कांग्रेसको केन्द्रीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएकी डिना यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन् । पार्टी संगठन सुदृढीकरण, महिला अधिकार र समावेशी लोकतन्त्रका विषयमा निरन्तर आवाज उठाउँदै आएकी डिनालाई कांग्रेसले पुनः विश्वास गरेर उम्मेदवार बनाएको हो ।

त्यस्तै, मकवानपुर क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उम्मेदवारी दर्ता गराएका छन् । लामो समयदेखि पार्टी संगठनमा क्रियाशील रहँदै आएका लामा स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभव भएका नेता मानिन्छन् । पार्टीभित्र संगठन विस्तार, जनसम्पर्क र आन्दोलनका क्रममा देखाएको सक्रियताका आधारमा कांग्रेसले उनलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको बताइएको छ।

नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा भेला भई ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो। निर्वाचन अधिकृतको कार्यालयले ठूला दलहरूलाई पालैपालो समय तोकेर उम्मेदवारी दर्ता गराउने व्यवस्था मिलाएको थियो । सोही कार्यतालिकाअनुसार कांग्रेसका उम्मेदवारहरूले निर्धारित समयमा उम्मेदवारी दर्ता गराएका हुन्।

पालिका प्रेस
थप जानकारी