मकवानपुरमा क्रियाशील राजनीतिक दललाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा ४ माघमा बसेको सर्वपक्षीय बैठकले उम्मेदवारी दर्ताका लागि समय निर्धार्रण गरेको हो।

६ माघमा सबैभन्दा पहिले बिहान मंगोल नेशनल अर्गनाइजेसनलाई १० देखि ११ बजेसम्म समय तोकिएको छ । त्यसपछि रास्वपालाई ११ देखि १२ र एमालेलाई १२ देखि १ बजेसम्म निर्धारण गरिएको छ । राप्रपालाई १ देखि २ बजेभित्र उम्मेदवारी दर्ता गर्न भनिएको छ। नेपाली कम्युनिष्ट पार्टीका लागि २ देखि ३ बजेसम्म समय छुट्याइएको छ। कांग्रेसलाई ३ देखि ४ र उज्यालो नेपाललाई त्यसपछि एक घण्टा समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताइन् । स्वतन्त्र उम्मेदवारले बिहान १० देखि ५ बजेसम्म जुनसुकै समयमा पनि मनोनयन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बैठकमा शान्ति सुरक्षा र मतदानस्थलका बारेमा जानकारी गराएका थिए। हेटौंडा–११ थानाभ¥याङस्थित कृषि थोक बजारको भवनमा जिल्लाका दुबै निर्वाचन क्षेत्रको कार्यालय स्थापना गरिएको छ । बैठकले मनोनयन दर्ता गराउन आउने उम्मेदवारसहित १५ जनालाई मात्र कार्यालय परिसरमा प्रवेश गर्न पाउने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल १ सय ६७ मतदान स्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन ्। निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १ सय ७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ सय ५ मतदान स्थल र १ सय ९६ मतदान केन्द्र रहेका छन्। मतदाता विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्। जिल्लाभर कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ तथा अन्य ५ जना रहेका छन्।

पालिका प्रेस
थप जानकारी