मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा जारी ‘चित्लाङ गोल्डकपको उपाधि चन्द्रागिरिको कुर्दन फुटबल एकेडेमीले चुमेको छ । २ माघमा सम्पन्न फाइनल खेलमा कुर्दन फुटबल एकेडेमीले डाँडाबास फुटबल क्लब थाहा–७ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। प्रतिस्पर्धात्मक फाइनल खेलमा कुर्दनका जर्सी नम्बर १६ का आयुष्मान श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई विजय दिलाएका हुन् ।
जित आफ्नो पोल्टामा पारेसँगै कुर्दन फुटबल एकेडेमीले नगद एक लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता डाँडाबास फुटबल क्लबले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा कुर्दन फुटबल एकेडेमीका रोहित थापा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको अंकित खड्गी उत्कृष्ट गोलरक्षक बन्न सफल भए । यस्तै, शिखर क्लबका विवेक थोकर र कुर्दनका सन्देश श्रेष्ठ संयुक्त रूपमा उत्कृष्ट गोलकर्ता घोषित भए ।
विजेता, उपविजेता तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि एवं थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै गोपालीले स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, स्वास्थ्य र सकारात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नगरपालिकाले आगामी दिनमा पनि खेलकुद प्रवद्र्धनमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

२७ पुसबाट चित्लाङको फुटबल मैदानमा भएको प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह चित्लाङ खेलकुद विकास समितिका अध्यक्ष अमर सिंह ठकुरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार बलामी, वडा नम्बर ७ का अध्यक्ष शिवराज थिङ, निर्माण व्यवसायी जयराम लामिछाने, जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

सो समारोहका खेल सञ्चालनमा सहयोग पु¥याउने विभिन्न संघ–संस्था तथा व्यवसायीहरूलाई समेत सम्मान गरिएको थिया । छ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो । समापन समारोहलाई अझ आकर्षक बनाउँदै बाबू एडभेन्चर्सको प्याराग्लाइडिङमार्फत प्रतियोगिता स्थलमा आकासबाट पुष्पवृष्टि गर्नुका साथै फुटबल बल हस्तान्तरण गरिएको दृश्य दर्शकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको थियो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्