मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी चौरमा तीनवर्षे मेला शुरु भएको छ । थाहानगरकोे इन्द्रायणी चौरमा १८ मंसिरबाट मेला शुरु भएको हो । स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला तीन दिनसम्म अर्थात २० मंसिरसम्म संचालन हुनेछ । मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको इन्द्रायणी मन्दिरमा रथ ल्याइएको छ । अब दोस्रो दिन सर्वसाधारणको मुख्य पुजा, तेस्रो दिन रथ उठाउने तान्त्रिक विधि सहितको पुजा हुने गर्दछ । मंसिर पुर्णिमाको दिनदेखि मेला इन्द्रायणी माईको चौरमा लाग्ने गर्छ ।
दामन पालुङको मध्यभागमा पर्ने इन्द्रायणी माईको चौरमा लाग्ने जात्रामा पालुङको नेवार तथा देउला समुदायले विधिपूर्वक पुजाआजासहित गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथारोहण गर्दछन भने गोपालीगाउँको सेति गणेशको रथारोहण पनि गर्ने गरिन्छ । देवीहरुको मुकुट पालुङ डबलीबाट रथमा इन्द्रायणी मन्दिरसम्म पु¥याइन्छ । जात्रामा ५ वटा रथयात्रा गरिन्छ । विगतमा रथ पुरुषहरूले मात्र बोक्ने गर्थे । केही वर्षदेखि रथ महिलाहरूले पनि बोकेर इन्द्रायणी माईको चौरमा पु¥याउने गर्छन् ।
मन्दिरमा रथ ल्याइसकेपछि सर्वसाधारणहरु साँझबाटै बत्ती बालेर जाग्राम बस्नदछन् । पालुङको इन्द्रायणी, भगवती कालाभैरब गुठी संरक्षण समितिले रातभर होमसहितको पुजा सञ्चालन गर्दछन् । गुठीको पुजा पनि रातमै हुने गर्दछ । दोस्रो दिन पालुङ उपत्यकालगायत उक्त क्षेत्रका बासिन्दाले बोका, राँगा, कुखुराको भाले गरी करिब दुई हजारभन्दा बढी चौपाया र पशुपन्छीको बली दिने प्रचलन रहेको छ । तेस्रो दिन रथ फर्काएसँगै मेला सकिन्छ ।
मेला अवधिमा थाहा नगरपालिका वडा नम्बर २ का देउला समुदाय र वडा नम्बर ३ का नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् । मन्दिरमा राती पञ्चबली सहितको पुजा हुने इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताए । तीन दिनसम्म लाग्ने जात्राको व्यवस्थापन समितिले गर्ने अध्यक्ष श्रेष्ठले बताए । मेला मकवानपुरको उत्तरी क्षेत्रको ऐतिहासिक मेला हो । करिब ३ सय ५० वर्ष अघिदेखि उक्त मेला चल्दै आएको छ ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्