चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको ३९ प्रतिशतभन्दा कम खर्च गरेको छ । गत वैशाख सम्ममा कुल बजेटको ३८ दशमलव ९१ प्रतिशत अर्थात् २५ अर्ब ११ करोड ४७ लाख १३ हजार रुपियाँ बजेटमात्र खर्च गरेको हो ।

प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आव को दश महिनामा प्रदेश सरकारले पुँजीगततर्फ रु १३ अर्ब दुई करोड ७३ लाख ४७ हजार र चालुतर्फ १२ अर्ब आठ करोड ७३ लाख ६५ हजार गरी रु २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार रुपियाँ बजेट खर्च गरेको छ ।

प्रदेश सरकारले चालु आवका लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँको बजेट ल्याएका बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८ दशमलव ९२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४९ दशमलव ५२ प्रतिशत खर्च गरेको छ ।

यस्तै सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६ दशमलव ४८ प्रतिशत खर्च गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारका धेरैजसो योजना आर्थिक वर्षको अन्तिम समयमा कार्यान्वयनमा जान थालेकाले अब विस्तारै पुँजीगत खर्च बढ्दै जाने मन्त्रालयको भनाई छ ।

पालिका प्रेस
थप जानकारी