मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्नका लागि वाइन टु वाटर नेपाल (डब्लुडब्लुएन)सँग सम्झौता गरेको छ । गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक निजन श्रेष्ठबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

साझेदार संस्था वाइन टु वाटर नेपालसँग गाउँपालिकाले खानेपानी र सरसफाई तथा स्वच्छता सेवा नपुगेका समूदाय, विद्यालय र स्वास्थ्य संस्थामा वास परियोजना कार्यान्वयन गरिने अध्यक्ष मुक्तानले बताए । विपन्न, पहुँच नपुगेका, गरिब तथा उपेक्षित घरधुरीलाई आधारभूत तथा मानवअभिकारको रुपमा स्थापित स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छताको पहुँचमा योगदान पु¥याउने लक्ष्य रहेको अध्यक्ष मुक्तानले बताए । ‘तीन वर्षका लागि हामीले सम्झौता गरेका छौ, उहाँहरुले घरपरिवार, विद्यालय र स्वास्थ्य संस्थामा वास परियोजना लागू गर्नुहुनेछ’ मुक्तानले भने ।

परियोजनाका लागि गाउँपालिकाले वास परियोजनाको प्राथमिककता, छनोट र कार्यान्वयनको पक्षमा सहजिकरणको भूमिका खेल्नेछ । खानेपानी परियोजनाका लागि गाउँपालिकाले कूल बजेटको न्यूनतम २५ प्रतिशत साझेदारी गर्नेछ भने यो कार्य उपभोक्ता समितिमार्फत गराउने अध्यक्ष मुक्तानले बताए । कूल बजेटमा १० प्रतिशत उपभोक्ताले साझेदारी गर्ने र ६५ प्रतिशत वाईन टु वाटरले गर्ने संस्थाका कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले बताए । हाम्रो तीन वर्षको सम्झौता हो, ०८५ असार मसान्तमा सम्झौताको मिति सकिन्छ, उनले बताए । सम्झौता अघि खानेपानी तथा सरसफाइ योजनाको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन माथि छलफल गरिएको थियो ।

अध्ययनको क्रममा १२ वटा योजनाको सम्भाव्यता अध्ययन गरिएको संस्थाका राष्ट्रिय निर्देशक श्रेष्ठले बताए । आगामी आवका लागि ७ वटा योजना कार्यान्वयन गरिने गरी काम अघि बढाउने उनले बताए । समझदारी पत्रमा अध्यक्ष मुक्तान सहित प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, संस्थाको तर्फबाट राष्ट्रिय निर्देशक श्रेष्ठ र कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले हस्ताक्षर गरेका छन् । भौगोलिक विकट रहेको कैलाशमा यस परि योजनाका लागि साझेदारीमा कार्य गर्दा खानेपानी र सरसफाइको क्षेत्रमा थप टेवा पुग्ने अध्यक्ष मुक्तानले बताए ।

पालिका प्रेस
थप जानकारी