मकवानपुरको राक्सिराङ ५ ठाडेचुरीमा रहेको राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमाबाट सेवा सुरु गरिएको छ । स्वास्थ्य बिमा बोर्डमा अस्पताल सूचिकृत गराई स्वास्थ्य बिमा गराएका बिरामीलाई अस्पतालबाट सेवा दिन सुरु गरिएको हो । अस्पताल गत फागुन महिनाबाट ओैपचारिक रुपमा सञ्चालनमा आएको हो ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ४ वैशाखमा अस्पतालमा स्वास्थ्य बिमा सेवाको उद्घाटन गरेका हुन् । १० शैयाको राक्सिराङ आधारभूत अस्पताललाई पहिलो सेवा केन्द्र बनाएर हाल २ सय जनाले स्वास्थ्य बिमा गराइसकेका छन् । गाउँपालिकाले ९ वटा वडाका प्रति वडा सय जनाका दरले यसै आर्थिक वर्षमा ९ सय जनाको निःशुल्क स्वास्थ्य बिमा गराउँदै गरेको बताउँदै अध्यक्ष मल्लले आगामी वर्षदेखि अस्पतालमा प्रथम सेवा केन्द्र बनाई सेवा लिनेको संख्या बढ्ने बताए । मनहरी तथा हेटौंडा र चितवनको निजी अस्पतालमा महङ्गो शुल्क तिरेर सेवा लिनुभन्दा गाउँकै अस्पतालमा उपलब्ध सेवा उपभोग गर्न उनले गाउँबासीमा अनुरोध समेत गरे ।

राक्सिराङ आधारभूत अस्पतालमा भिडियो एक्सरे, प्रसुति सेवाका साथ ल्याब परीक्षण सेवासमेत सञ्चालन भइरहेको छ । अस्पतालले बिहीबारबाटै चौबिसै घण्टा इमर्जेन्सी सेवासमेत दिन सुरु गरेको छ । अस्पतालमा प्रयोगशालातर्फ लिभर फङ्सन टेस्ट, सुगर, युरिक एसिड, एलएफटी, आरएफटी, लिपिट प्रोफाइल, युरिनारी, स्टुलारी, ब्लड ग्रुपिङलगायतका सेवा उपलब्ध रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । अस्पतालमा हाल दैनिक करिब ५० जनाले सेवा लिइरहेको उनले बताए ।

अस्पतालमा हाल एक जना एमबिबिएस डाक्टरसहित १२ जनाले सेवा प्रदान गरिरहेका छन् । अस्पतालमा डाक्टरसहित एक जना सिनियर अहेब, २ जना अहेब, ३ जना अनमी, एकजना ल्याब असिस्टेन्ट, ३ जना कार्यालय सहयोगी र एक जना एम्बुलेन्स चालक कार्यरत छन् । अस्पतालले एम्बुलेन्स सेवासमेत दिइरहेको छ । स्वास्थ्य बिमा सेवा उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, राक्सिराङ ५ का वडाध्यक्ष एवम् अस्पतालको जग्गादाता हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी