संघीय सरकारले २९ पुसमा राजपत्रमा प्रकाशन गरेको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाट स्थानीय सरकार सञ्चालन ऐनसहित अन्य कानून समेत संशोधन भएको छ । अध्यादेशमार्फत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दुईवटा दफा संशोधन भएका छन् ।

थाहा नगरपालिका वडा नम्बर १ का निर्वाचित वडाध्यक्ष हेरमान गोपाली (दायाँ), कार्यवहाक वडाध्यक्ष सरोज प्रधान (बायाँ) ।
ऐनको दफा ११६ को सबै व्यवस्था संशोधन भएको छ भने दफा ११ को उपदफा (२) खण्ड (न) मा उपखण्ड (११) मा (११क) थपिएको छ । दफा ११६ (१) मा ‘अध्यक्ष उपाध्यक्ष वा प्रमुख उपप्रमुख दुवै निलम्बनमा परेमा वा कुनै कारण दुवै पद रिक्त भएमा कार्यपालिका सदस्यहरुले आफूमध्येबाट छनोट भएको सदस्यले कार्यबहाक अध्यक्ष, उपाध्यक्ष वा प्रमुख उपप्रमुख भई काम गर्ने छ’ भन्ने व्यवस्था राखिएको छ ।

त्यस्तै सोही दफाको उपदफा (२) मा वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा वा निज निलम्बनमा परेमा वडा समितिका सदस्यहरुले आफू मध्येबाट छनोट गरेको सदस्यले कार्यबहाक वडा अध्यक्ष भई कार्य गर्नेछ’–भन्ने व्यवस्था थपिएको छ । अध्यादेश मार्फत संशोधित कानूनका आधारमा मकवानपुर थाहा नगरपालिकाको १ नम्बर वडामा एकवर्ष अघिबाट कार्यवहाकको जिम्मेवारीमा रहेका वडा सदस्य सरोज प्रधानले वैद्यता पाएका छन् । निर्वाचित वडाध्यक्ष हेरमान गोपाली २०८० सालको पुसमा विदेशिएपछि १ नम्बर वडा कार्यबहाक अध्यक्षको भरमा संचालन हुँदै आएको थियो । २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गोपाली रोजगारीको शिलशिलामा इजरायल गएको बताइएको छ ।
त्यस्तै अध्यादेश मार्फत संसोधन गरिएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) खण्ड (न) मा उपखण्ड (११) मा (११क) थपिएको छ । यस उपखण्डमा ‘एम्बुलेन्स, वारुणयन्त्र सञ्चालन तथा व्यवस्थापन’ गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।
कानून छल्दै वडाध्यक्ष गोपाली इजरायल पुगे
स्थानीय तहका पदाधिकारीहरुको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ संघीयतापछिको पहिलो निर्वाचन सक्ने वित्तिकै नेपाल सरकारले जारी गरेको छ । अहिले पनि यहि कानूनका आधारमा स्थानीय तहका पदाधिकारीहरु विदेश जाने गरेका छन् । तर थाहा नगरपालिकाको १ नम्बर वडाध्यक्ष हेरमान गोपाली निर्देशिका छलेर विदेश पुगेका छन् ।
स्थानीय तहका पदाधिकारीहरुको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ को दफा ३ मा उल्लेख भएको विदेश भ्रमणका लागि मनोनयनका आधारमा पदाधिकारी विदेश जान पाउने संघीय कानून छ । उक्त आधार पुष्टि भएपछि सोही निर्देशिकाको दफा ४ बमोजिम विदेश जानका लागि मनोनयन हुने व्यवस्था छ । दफा ३ मा आधारहरु खुलाउँदै निर्देशिकामा लेखिएको छ–‘निमन्त्रणा गर्ने मुलुकको समकक्षी वा निमन्त्रणा गर्ने संस्थाको निमन्त्रणा प्राप्त भएको, भ्रमणको विषयवस्तु र सहभागिताको दृष्टिले पदाधिकारी नै सहभागी हुन उपयुक्त भएको, भ्रमणबाट स्थानीय तहको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास, सेवा प्रवाह तथा अन्य विविध क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएको’ लगायत छन् । तर यि सबै आधार बाहेक निर्वाचित अध्यक्ष गोपाली रोजगारको शिलशिलामा इजरायल गएको बुझिएको छ ।
स्थानीय तहका पदाधिकारीहरुको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ दफा ४ को खण्ड (क) मा जिल्ला समन्वय समिति प्रमुख र महानगरपालिकाका प्रमुखको हकमा नेपाल सरकाले वैदेशिक भ्रमणका लागि मनोनयन गर्ने व्यवस्था छ । सोही दफाको खण्ड (ख) मा भनिएको छ । –‘खण्ड (क) मा उल्लेख भएका पदाअधिकारी बाहेक अन्य पदाधिकारीको हकमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री ।’
यद्यपि वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मनोनित भएर विदेश भ्रमणमा गएका होइनन् । उनी रोजगारीकै शिलशिलामा इजरायलमा छन् ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्