हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाकी प्रमुख मिनाकुमारी लामाले नगरका जनताको स्वास्थ्यप्रति आफूहरु गम्भीर भएर लागिरहेको बताएकी छन् । हेटौंडा–१ को जरुवाटोलमा नवनिर्मित नकौली शहरी स्वास्थ्य केन्द्रको भवन २९ पुसमा उद्घाटन गर्दै प्रमुख लामाले जनतालाई स्वास्थ्य सेवा सहज बनाउन आफ्नै भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइन् ।
‘हेटौंडाको १९ वटा वडामा २२ वटा स्वास्थ्य केन्द्र बनाएर सेवा दिइरहेका छौं’, मेयर लामाले वडा नं. १, १५ र १९ नम्बर वडामा दुई/दुई वटा स्वास्थ्य केन्द्र बनाएर सेवा प्रवाह गरिरहेको बताइन् । ‘साविक गाविस मिलेर बनेका वडाहरुमा टाढाबाट सेवाग्राहीहरु आउन समस्या हुने भएकाले हामीले वडा नं. १ को नाकौली–बाँझोडाँडा, १५ को चिप्लेटी र १९ को ज्यामिरेमा थप केन्द्र भवन बनाएरै सेवा प्रवाह गरि रहेकाछौं’, प्रमुख लामाले ती केन्द्रहरुमा दैनिक सयौं सेवाग्राहीले सेवा लिइरहेको बताइन् ।
वडा नंम्बर १ का अध्य सविन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले आफूहरु नगरमा निर्वाचित भएपछिमात्रै चारवटा स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण सम्पन्न भएको बताए । ‘जहाँ जनता, त्यहाँ सेवा’ भन्ने भावनाका साथ आफूहरु स्वास्थ्य क्षेत्रमा गम्भीर भएर काम गरिरहेको उनले बताए । हेटौंडा उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले नयाँ व्यवस्थासंगै जनताको घरदैलोमा सेवा पु¥याउन स्थानीय सरकारले गरेको कामको खुलेर प्रशंसा गरे । उनले केन्द्रमा खटिने कर्मचारीहरुलाई जनतामाझ मुस्कानसहित सेवा प्रवाह गर्न निर्देशन दिए ।
स्वास्थ्य केन्द्रबाट स–साना घाउचोटको उपचार, नेपाल सरकार बाट वितरण हुने निःशुल्क औषधी सेवा, गर्भवती परीक्षण, परिवार नियोजनका अस्थायी साधन वितरण, खोप सेवा तथा सरकारले चलाएको विशेष स्वास्थ्य अभियान सञ्चालन हुने स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्