मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले नगर प्रहरी परिचालन गरी जंक फुड निषेध अभियानलाई अघि बढाउने बताएका छन् । उनले यसअघि नै गाउँपालिकाको कार्यपालिका बैठकले कोल्ड ड्रिंक्सको प्रयोग तथा खादाको प्रयोग निषेधबारे निर्णय गरिसकेको स्मरण गराउँदै यसको कार्यान्वयन प्रभावकारी बनाउने उल्लेख गरे । राक्सिराङ ५ चैनपुरस्थित गाउँपालिकाको सभा हलमा टुकी फाउन्डेसनले आयोजना गरेको सुक्ष्म अनुसन्धानको समिक्षा कार्यक्रममा अध्यक्ष मल्लले यस्तो बताएका हुन् ।
गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले अब कोक र डिउ नियन्त्रणका लागि हरेक चर्चका पास्टरहरु, गुम्बाका लामाहरु र मन्दिरका पुजारीहरुलाई नै अभिमुखीकरण गर्नुपर्ने सुनाए । रक्सी खाने लत छुटाउने बहानामा कोल्ड ड्रिंक्स खुवाउने क्रम व्यापक बढेको उनको भनाई थियो ।
त्यसोतः राक्सिराङ गाउँपालिकामा डिउ, कोकजस्ता चिसो पेय पदार्थका अधिक प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पारेको स्थानीयबासिन्दाहरुले प्रतिक्रिया दिएका छन् । सुक्ष्म अनुसन्धानको समिक्षा कार्यक्रममा डिउ र कोकको प्रयोग निकै घातक भएको बताएका हुन् । ‘खाँदा एकदम मिठो हुने तर प्रेसर र सुगर बढेर खप्नै नसक्ने गरी बढाउँदो रहेछ’, राक्सिराङ ५ निवासी कान्छीमायाँ प्रजा (चेपाङ) ले भने ।
कार्यक्रममा सहभागी सुना प्रजा (चेपाङ) ले पनि गाउँभरि डिउ, कोकको अधिक प्रयोगका कारण टाइफाइड, जन्डिस, रुघाखोकीका बिरामीलाई थप संक्रमणमा बढाएर जटिल बनाइरहेको बताइन् । ‘सामान्य संक्रमणमाथि जंक फुड र कोल्ड ड्रिंक्सहरु पिउँदा समयमै उपचार, जाँच र रोकथाम नहुँदा किड्नी फेल समेत भइरहेको घटनाहरु गाउँघरमा देखेका छौँ’, सुनाले भनिन् ।
हरेक पसलहरुमा निस्फिक्री रुपमा डिउ, कोक, फ्यान्टा, स्प्राइटसहित प्याकेजिङ गरिएका खाद्यबस्तुहरु पाइने उल्लेख गर्दै अहिले विवाह, गासा, मलामी तथा किरियाहरुमा समेत चियो पेय पदार्थहरुको प्रयोग देखिएको टुकी फाउण्डेसनले जनाएको छ । फाउण्डेसनले केही महिलाहरुलाई केन्द्रित गरेर गरेको सर्वेक्षणका क्रममा गाउँघरमा डिउ, कोक खान नपाए मेलापर्ममा समेत खेतालाहरु नआउने अबस्था आएको बताइएको थियो ।
कार्यक्रममा ५ वडाका वडाध्यक्ष हरिबहादुर प्रजाले पनि धारणा राखेका थिए । कार्यक्रममा टुकी फाउण्डेसनका तर्फबाट सर्वेक्षणकर्ता प्रमिता ढुंगानाले सर्वेक्षणको प्रक्रिया र घटनाक्रमहरुबारे प्रस्तुति दिनु भएको थियो भने कार्यकारी निर्देशक शिला सिंह ठकुरीले सञ्चालन गरेकी थिइन् । कल्पना प्रजाले स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षता टुकी फाउण्डेसनका सचिव बिना खालिङ राईले गरिन् । परम्परागत मौलिक खानेकुराहरुको प्रवद्र्धन गर्न सके बजारबाट आयातित जंकफुड र कोल्ड ड्रिंक्सहरु निमिट्यान्न पार्न सकिने कार्यक्रममा सहभागीहरुले धारणा राखेका थिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्