स्थानीय तहको चौथो तहमा कार्यरत स्थायी कर्मचारीले प्रदेश लोकसेवा आयोगले लिने बढुवा विज्ञापनमा सहभागी हुन पाउने व्यवस्था गरिदिन माग गरेका छन् । कोशी प्रदेशका कर्मचारीले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखी यस्तो माग गरेका हुन् ।

उनीहरुले आफूहरुलाई सेवा प्रवेशदेखि अहिलेसम्म तालिम नदिइएको र प्रदेश लोकसेवा आयोगले खुलाएको वढुवा विज्ञापनमा सेवाकालिन तालिम अनिवार्य गरिएकोले आफूहरु अवसरबाट बन्चित हुनु परेको गुनासो गरेका छन् ।

संघीय लोकसेवा आयोगले २०७६ सालमा स्थानीय तहका लागि चौथो तहमा स्थायी कर्मचारी भर्ना गरेको थियो । तर, ती कर्मचारीलाई अहिलेसम्म पनि सेवाकालिन तालिम नदिइएको उनीहरुको भनाइ छ । आफूहरुलाई तालिम नदिइएको तर वढुवा विज्ञापनमा तालिम अनिवार्य भनिएकोले तालिम नभएपनि वढुवा प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था मिलाइदिन उनीहरुको माग छ ।