मकवानपुरको थाहा नगरपालिकाले इ–पेमेन्ट अर्थात अनलाइन भूक्तानी प्रणाली शुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको १७ असारसम्म मात्र एकसय बढि आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा व्यक्तिहरुको भूक्तानी इ–पेमेन्ट मार्फत गरिसकिएको थाहा नगरपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए ।

त्यसैगरी थाहा नगरपालिकाले संघीय संचित कोषमा जम्मा हुने सबै खाले कर तथा निर्माण व्यवसायी, परामर्शदाता, आपूर्तिकर्ता र अन्य सेवा प्रदायक संस्था र व्यक्ति सबैको कट्टी गरेको विभिन्न कर समेत इ–टिडिएस गर्ने कार्य थालिसकेको छ । नेपाल सरकारले विकास गरेका प्रणाली तथा प्रविधि प्रयोगमा ल्याइरहँदा यसबारे आम सरोकारवालालाई सुसुचित गराउन सके थप प्रभावकारी हुने लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए ।

पूर्ण रुपमा ई–पेमेन्ट कार्यान्वयनका ल्याउनका लागि पालिकाबाट भूक्तानी लिनेको बैंक खाता अनुसारको नेपाली तथा अंग्रेजी नाम, बैंकको नाम, शाखा, खाता नम्बर र सम्बन्धितको प्यान वा भ्याट नम्बर अनिवार्य हुनुपर्ने उनले जानकारी दिए ।

पालिकाले १७ असारसम्म एक करोड बढिको भुक्तानी इ–पेमेन्ट मार्फत गरिसकेको लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए । ‘हामीले आपूर्तिकर्ता, निर्माण व्यवसायी, संस्थागत व्यक्तिगतलगायतको इ–पेमेन्ट गरिरहेका छौँ, असार महिनाको कर्मचारीको तलब ई–पेमेन्ट गर्ने तयारी पूरा भएको छ’– खपाङ्गी मगरले भने–‘आगामि आर्थिक वर्ष २०७९/०८० बाट पूर्णतः इपेमेन्ट प्रणाली प्रयोगमा ल्याउँछौं ।’

पालिकाले आगामि आर्थिक वर्षबाट सबै खाले खरिद वस्तु, निर्माण कार्य, परामर्शदाता र अन्य सेवाको खरिदको लागि खरिद इकाइ, मुल्याङ्कन समिति र रुजु समितिलाई समेत थप क्रियाशील गराई सेवा प्रवाह गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी थाहानगरमा तिर्नुपर्ने करलाई पनि पूर्णतः अनलाईन प्रणाली बनाइने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । उनले भने–‘यसअघि पनि एउटा वडाको कर अर्को वडाबाट तिर्न सकिने व्यवस्था गरेका थियौं, अब हामी वेभ प्रणालीमा जाँदैछौं ।’ नगरपालिकाले कर भुक्तानी प्रणालीलाई अनलाइनमा आधारित बनाई कुनैपनि कर घरैमा बसेर तिर्न सक्ने व्यवस्था गर्न लागेको थाहा नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी