मकवानपुर थाहा नगरपालिकाले भिमफेदी—सिमभञ्ज्याङ र सिमभञ्ज्याङ—चन्द्रागिरी खण्डमा केवलकार निर्माण गरेर हेटौडा—काठमाडौ केवलकार सम्भाव्यता अध्ययन गरि पर्यटन पूर्वाधार विकास गर्न संघीय, प्रदेश सरकार, नीजि तथा सहकारी क्षेत्रसंग सहकार्य गर्ने जनाएको छ । थाहाले आगामि आर्थिक वर्ष २०७९÷०८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।

थाहानगरले थानकोट—चन्द्रागीरी—चित्लाङ सडक निर्माण सम्पन्न गर्न संघीय र प्रदेश सरकारसंग आवश्यक समन्वय गर्ने पनि नीति लिएको छ । कुलेखानी—कुन्छाल सडक स्तरोन्नति तथा कालोपत्रे गर्न टेण्डर आव्हान भैसकेको हुँदा यसलाई समयमै सम्पन्न गर्न प्रदेश सरकार र सम्बन्धीत निकायहरुसंग आवश्यक समन्वय गर्ने जनाएको छ । थाहा–७ को डाँडाबास हुँदै—दामगाडे—मोरिया—महादेवबेसी सडक खण्डको निम्ति संघीय सरकार र प्रदेश सरकारबाट  करीब एक अर्ब रकम विनियोजन गरेकोमा नीति तथा कार्यक्रमकै माध्यमबाट धन्यावद दिएको छ ।

थाहा नगरमा निर्माण भएका सडकहरुको स्तरोन्नती गर्ने थाहाको नीति छ । थाहा नगरबाट संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौडासम्म यात्रागर्न सुरक्षित, सुबिधायुक्त, पर्यटन मैत्री सार्वजनिक यातायातका साधनहरु नियमित रुपले सञ्चालन गर्न नीजि र सहकारी क्षेत्रसंग सहकार्य गरी आवश्यक व्यवस्था मिलाउने पनि जनाइएको छ ।

थाहा नगर बस पार्कलाई सुबिधा सम्पन्न रुपमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने नीति थाहानगरको छ । आगामि आर्थिक वर्षमा संभव भएसम्म सडक ग्राभेल नगर्ने र ढलान गर्ने नीति लिएको छ । थाहानगरको पालुङ हस्पिटलचोक–बसपार्क, हस्पिटल चोक–पेट्रोलपम्प, क्याम्पाडाँडा–बसपार्क, विद्युत प्राधिकरण नगरपालिका कार्यालय भवनसम्म सडक विस्तार गरी बजारीकरण गर्न आवश्यक संभाव्यता अध्ययन गर्ने नीति छ ।

त्यस्तै इन्द्रायणी चौर खेल मैदान र सार्वजनिक शौचालय निर्माण गर्ने नीति तथा कार्यक्रममा उललेख छ । फेदीगाउँ वस्ती बचाउ, बागेखोला बस्ती बचाउ र टाखेल बस्ती बचाउको लागि थप बजेटको व्यवस्था गर्ने र सबै वडामा रहेका सडकहरुको लगत संकलन गरी अभिलेख व्यवस्थापन गर्ने थाहा नगरपालिकाको नीति छ ।

पालिका प्रेस
थप जानकारी