दाङको बबई गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

तत्कालीन जनप्रतिनिधिले विकास र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । “लोकतान्त्रिक आन्दोलन र यहाँको विकासका लागि पनि उहाँहरूले खेलेको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि उहाँहरूको योगदानलाई हामीले मूल्याङ्कन गरेर सम्मान गरेका हौँ ।”

सबै स्थानीय तहले पुराना जनप्रतिनिधिलाई सम्मान गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले बताउनुभयो । “हामीले स्थानीय तहमा नमूनाकार्य गरेका छौँ”, उहाँले भन्नुभयो, “यो सबै स्थानीय तहले यसरी नै सम्मान गर्नुपर्छ ।” तत्कालीन गाविसका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको हो ।

गाउँपालिकामा रहेका पूर्वजनप्रतिनिधि ११६ रहेको भन्दै सबैलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत भीष्मकुमार मल्लले बताउनुभयो । उहाँका अनुसार तीमध्ये केही जनप्रतिनिधिको मृत्यु भइसकेको र केही जनप्रतिनिधि देश बाहिर रहेको भन्दै त्यस्ता जनप्रतिनिधिका परिवारलाई पनि सम्मान गरिएको हो ।

गाउँपालिकाले साविक पञ्चकुले र पुरन्धाराका विसं २०४९ र २०५४ का ११६ जनप्रतिनिधिलाई सम्मान गरेको हो । गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गर्नु नयाँ अभ्यास भएको उनीहरूको भनाइ छ । २५ वर्षअघिका जनप्रतिनिधिलाई एउटै थलोमा भेट्टाउने गरी आयोजना गरिएको यो कार्यक्रम निकै प्रभावकारी भएको विसं २०५४ का साविक पञ्चकुले गाविसका उपाध्यक्ष कृष्णप्रसाद चौधरीले बताउनुभयो । उहाँले पुराना कुरा पनि सम्झिँदै भन्नुभयो, “त्यतिबेला हामीले दुई–अढाइ लाख बजेटमात्रै पाउथ्यौँ, त्यसमा पनि रु एक लाख ९५ हजारमात्रै चलाउन पाइन्थ्यो, तर अहिले वडामै ३० लाखबढी बजेट जान्छ ।”

बजेटले नै विकासको निर्धारण गर्ने भन्दै अहिले सरकारका रूपमा मान्यता पाएका स्थानीय तहले विगतभन्दा धेरै बजेट पाउने र विकास पनि राम्रै गरेको विसं २०५४ तत्कालीन पुरन्धारा गाविकासका उपाध्यक्ष खिमबहादुर खत्रीले बताउनुभयो । त्यतिबेला जनप्रतिनिधिलाई सेवा–सुविधा पनि नभएको र अहिले जनप्रतिनिधिलाई सेवा–सुविधा पनि भएकाले धेरै सहज भएको उहाँको भनाइ थियो ।

पालिका प्रेस
थप जानकारी