राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपकबहादुर सिंहले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप अधिकार दिनुपर्ने बताएका छन् । राप्रपा मकवानपुरको बुधबार हेटौंडामा आयोजित १० औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता सिंहले प्रदेश सरकार सञ्चालनमा राज्यको ठूलो रकम खर्च भइरहेको बताए ।
जनताले तिरेको करबाट प्रदेश संरचना सञ्चालन गर्न नसकिने उनको धारणा थियो । चुनावका बेला राप्रपाले उठाउँदै आएको प्रदेश खारेजीको मुद्दा अहिले सही सावित हुँदै गएको दाबी गर्दै सिंहले छोटो अवधिमै पटकपटक मुख्यमन्त्री परिवर्तन हुने अवस्थाले प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठाएको बताए । राजनीतिक भागबन्डा र सत्ता परिवर्तनका कारण प्रदेश सरकार अस्थिर बन्ने गरेको उनको आरोप थियो । प्रदेश संरचनामा भ्रष्टाचार बढेको दाबी गर्दै सिंहले सांसदहरुलाई नै आर्थिक प्रभावमा पारेर मुख्यमन्त्री बनाउने अवस्था देखिएको जिकिर गरे ।
प्रदेश संर चना खारेज गरे त्यसबाट बच्ने ठूलो रकम शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा लगानी गर्न सकिने उनले बताए । राज्यले आधारभूत शिक्षा र स्वास्थ्य नागरिकको सहज पहुँचमा पु¥याउनुपर्नेमा जोड दिँदै सिंहले स्थानीय तहलाई थप अधिकार र स्रोत उपलब्ध गराउनुपर्ने बताएका छन् । ‘प्रदेशको संरचना खारेज गर्नुपर्छ भनिकन हामीले त्यो मुद्दा चुनावमा गाउँगाउँ, टोलटोलमा उठाएका छौँ, त्यो देखिहाल्यो’ सिंहले भने, ‘त्यसकारण यो खारेज गरिकन स्थानीय निकायलाई अधिकार र बाँकी त्यो अरबौँअरब रुपैयाँ जुन छ, जनताको शिक्षा, स्वास्थ्य र रोजगारीमा लगाउनु पर्छ, शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क गर्नुपर्छ भन्ने मूल्य र मान्यता बोकेर तपाईँ–हामी आएका छौँ ।’
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य समेत रहेका सिंहले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रसंग उल्लेख गर्दै आन्दोलनमा युवाले ज्यान गुमाए पनि उनीहरुको अपेक्षा अनुसार मुलुकमा परिवर्तन हुन नसकेको बताएका छन् ।















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्