मकवानपुरको थाहा नगरपालिकामा शिलन्यासको नौ वर्षपछि शङ्खधाराको उद्घाटन गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ३ स्थित शङ्खमूल परिसरमा निर्माण सम्पन्न १०८ शङ्खधाराको श्री १००८ स्वामी चर्तुभुजाचार्य चुडामणीजी महाराजले ११ साउनमा एक समारोहकाबीच शङ्खधाराको उद्घाटन गर्ने भएका हुन् । शङ्खमूल परिसरमा १०८ शङ्खधारा स्थापना गर्ने गरी वि.सं. २०७४ जेठ १२ गते तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शिलन्यास गरेका थिए ।

वृहत्तर धार्मिक स्थल निर्माण गर्ने गरी थाहा नगरपालिकाका प्रथम नगर प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग बहादुर गोपालीले शंङखमूललाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न स्थानीय अग्रज, ब्राम्हण/पण्डित र धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार निर्माण गर्ने गरी सुझाव दिई शङ्खधाराको शिलन्यास गरिएको थियो । विष्ट निर्वाचित भएको केही समय नबित्दै भेलाको आयोजना गरी शङखमूल क्षेत्रलाई ‘त्रिवेणी शङ्खमूल नारदतिर्थ दिव्यधाम’ नामाकरण गरी निर्माण प्रक्रिया अघि बढाइएको थियो । सो क्षेत्रमा पूर्वाधार विकासका लागि कमल केसीको अध्यक्षतामा समिति गठन गरी विविध गतिविधिहरु सञ्चालन गरिएको थियो । यो समितिले करिब १ वर्ष काम गरेको थियो ।

थाहा नगरपालिका समेतको लगानीमा पालुङतर्फको खोला किनारामा यहि समितिले तटबन्धन गरेको हो । धारालाई गंगा अर्थात पालुङपट्टिको खोलातर्फ फर्काउने र सोही स्थानमा पितृकार्य गर्न शुभ हुने सुझावसहित पूर्वाधार निर्माणको योजना बनाइएको थियो । सो क्षेत्रमा हाल निर्माण सम्पन्न धाराको मोहडा ठीक विपरित भएर फेरिएको छ । यो पनि धार्मिक दृष्टिले शुभ मानिने विश्लेषण छ । स्थानीयहरुको समेत अग्रसरतामा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदनमा शङखमूल परिसरमा ठूलो शङख स्थापना, ६४ शिवलिङ्ग एकै स्थानमा दर्शन गर्न सकिने गरी राख्नेलगायतको पूर्वाधार निर्माण गर्ने उल्लेख गरिएको छ ।


साविक ‘त्रिवेणी शङ्खमूल नारदतिर्थ दिव्यधाम’ निर्माणका लागि उक्त समिति पुर्नगठन भई वि.सं. २०७५ सालमा मिरा कुमारी भट्टको अध्यक्षतामा समिति पुर्नगठन भएको थियो । समितिमा सबै महिलाहरु मात्र रही काम गरेका थिए । यस समितिले करिब ५ वर्षसम्म ‘त्रिवेणी शङ्खमूल नारदतिर्थ दिव्यधाम’ क्षेत्रको पूर्वाधार विकासको काम गरेको थियो । समितिले आरती तथा स्नान स्थल, पितृकार्य गर्ने स्थान निर्माण तथा ढलान, धाराको पिलर निर्माण, सरस्वती÷गणेश मन्दिर परिसर निर्माण, चौतारा निर्माण, खैटेखोलातर्फको तटबन्धनलगायको काम गरेको थियो । पूर्वाधार तथा सहभागितामूलक विकास कार्यमा उत्कृष्ट काम गरे वापत उक्त समिति थाहा नगरपालिकाको नगरसभाको सातौं अधिवेशनबाट सम्मानित समेत भएको थियो ।

सो समयमा समितिले ‘त्रिवेणी शङ्खमूल नारदतिर्थ दिव्यधाम’ निर्माणका लागि श्रमदान अभियान नै सञ्चालन समेत गरेको थियो । नजिकका वडाहरुबाट महिला समूहहरुले श्रमदान गरेका थिए । थाहा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ तथा ६ नम्बर वडाबाट समेत श्रमदानका लागि महिलाहरु आएको तत्कालिन समितिकी अध्यक्ष भट्टले बताइन् । थाहा–६ बाट कल्पना बलामीले नेतृत्वमा श्रमदाताहरु महिलाहरुले शङ्खमूल श्रमदान गरेको समितिले जनाएको छ । शङ्खमूल क्षेत्रमा थाहा खैजडी भजन समूहलले समेत श्रमदान गरेको थियो । सो निर्माण अवधिमा सुकदेव रायमाझी, सजित कार्की, सुन्दर थापा, पार्वती रायमाझीले सिमेन्ट खरिदका लागि १÷१ हजार सहयोग गरेका थिए भने रामराजा केसीले नौहजार ६ सय गिट्टीका लागि सहयोग गरेका थिए ।

यसैबीच ११ साउनमा उद्घाटन हुने शङ्खधाराको निर्माणका लागि एक धारा÷एक व्यक्ति (परिवार)ले लगानी गरेका छन् । साविक ‘त्रिवेणी शङ्खमूल नारदतिर्थ दिव्यधाम’ लाई मोक्षधाम निर्माण गर्ने लक्ष्यकासाथ संस्था गठन गरी काम भइरहेको छ । मोक्षधाम शङ्खमूल नेपाल संस्था दर्ता गरी उक्त क्षेत्रको पूर्वाधार विकास सम्बन्धी काम अघि बढाइएको हो । गुप्त बहादुर कार्कीको अध्यक्षतामा रहेको उक्त समितिले सो क्षेत्रको विस्तृत परियोजना प्रस्ताव तयार गरी काम गरी रहको छ । धार्मिक पूर्वाधार विकासका लागि चालु आर्थिक वर्ष २०८३/०८४ मा १ करोड २० लाख बजेट विनियोजन भएको छ । सो निर्माणाधिन धामका लागि श्री १००८ स्वामी चर्तुभुजाचार्य चुडामणीजी महाराजलाई मठाधिसको रुपमा स्थापित गरिएको जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी