मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिका वडा नम्बर ९ स्थित नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ७ लाख रुपैयाँ सहयोग संकलन भएको छ । ऐतिहासिक चित्लाङमा रहेको उक्त मन्दिरका लागि सञ्चालन गरिएको अभियानको एकसातामै करिब ७ लाख रुपैयाँ संकलन भएको जानकारी सार्वजनिक गरिएको छ ।
मन्दिर पुनर्निर्माण तथा बाँकी निर्माण काम सम्पन्न गर्न आवश्यक रकम अभाव भएपछि समितिले सहयोग आव्हान गरेको थियो । यससँगै देश तथा विदेशमा रहेका सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोगीहरु मन्दिरका लागि आर्थिक स्रोत जुटाएका हुन् । सहयोग आह्वान गरेपछि छोटो समयमै देश तथा विदेशबाट उल्लेखनीय साथ, सद्भाव र आर्थिक सहयोग प्राप्त भएको समितिले जनाएको छ । सहयोग अभियानप्रति देखाइएको विश्वास, धार्मिक आस्था र सामुदायिक ऐक्यबद्धताप्रति सम्पूर्ण दातागणप्रति समितिले कृतज्ञता व्यक्त गरेको छ ।
काठमाडौं उपत्यकालाई तराईसँग जोड्ने प्राचीन व्यापारिक मार्गका रूपमा परिचित चित्लाङ ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाले सम्पन्न क्षेत्रका रूपमा चिनिन्छ । यहाँ रहेका विभिन्न मठमन्दिर, पुरातात्त्विक सम्पदा तथा परम्परागत बस्तीले चित्लाङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्दै आएका छन्। स्थानीय समुदायका अनुसार नाट्यश्वरी मन्दिर पनि यस क्षेत्रको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदामध्ये एक हो।
समितिले सहयोग अभियानमार्फत प्राप्त प्रत्येक रुपैयाँको पूर्ण पारदर्शिताका साथ आय–व्यय विवरण सार्वजनिक गरिने जनाएको छ। साथै, सहयोग गर्ने सबै दाताको नामावली, प्राप्त सहयोग रकम तथा मन्दिर पुनर्निर्माणमा भएको सम्पूर्ण खर्चको विस्तृत विवरण निर्माण कार्य सम्पन्न भएपछि सार्वजनिक गरिने बताइएको छ ।
त्यसैगरी, मन्दिर निर्माण सम्पन्न भएपछि सहयोगी दाताहरूको सम्मानस्वरूप उनीहरूको नाम धातुबाट तयार गरिने स्मृति शिलापट्टमा समावेश गरिने उल्लेख गरिएको छ । यसका लागि आवश्यक विवरण यकिन गर्न सम्बन्धित दाताहरूसँग सम्पर्क गरिने पनि समितिले जनाएको छ ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्