माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेड वृिद्ध परीक्षा १ असार १ सोमबारदेखि सुरु हुँदैछ । मकवानपुर जिल्लाबाट २ हजारभन्दा बढी विद्यार्थीले एसईई ग्रेडवृद्धि (पूरक) परीक्षा दिनेछन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको तथ्याङ्कअनुसार २ हजार ४ सय १६ जना विद्यार्थीले पूरक परीक्षाका लागि आवेदन दिएका छन् ।
एसईई पूरक परीक्षाका लागि यस वर्ष हेटौडा उपमहानगरपालिका, बकैया गाउँपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिका गरी चार पालिकाको ७ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकामा रहेको सिद्धार्थ मावि, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि र भुटनदेवी माविलाई केन्द्र निर्धारण गरिएको छ । बकैया गाउँपालिकाका बुद्ध मावि, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी मावि र थाहा नगरपालिकाको जनकल्याण माविलाई परीक्षा केन्द्र तोकिएको छ । मकवानपुर जिल्लाभित्र रहेका १३२ वटा माध्यमिक विद्यालयबाट २०८२ सालको एसईईमा ५ हजार ५ सय २७ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ हजार ८ सय १८ जना ग्रेडेड हुँदा २ हजार ७ सय ९ जना विद्यार्थी ननग्रेडेड भएका थिए । मौका परीक्षाका लागि आवेदन दिएकामध्ये सबभन्दा बढी गणित विषयमा २ हजार २ सय २३ जना र विज्ञान विषयमा १ हजार ५ सय ४९ जना रहेका छन् । पूरकको परीक्षाको नतिजा असार महिनाभित्रमै प्रकाशन गर्ने सरकारको तयारी छ ।
यसअघि एसईई नियमित परीक्षाको उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिएको थियो भने पूरकको परीक्षाको उत्तरपुस्तिका जिल्लामा परीक्षण गरिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गिरीले जानकारी दिए ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्