बागमती प्रदेश सभाको बजेट अधिवेशन आगामी ११ जेठदेखि सुरु हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुखबाट प्रदेश सभाको अठारौँ अधिवेशन आह्वान गरिएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्रीका अनुसार अधिवेशनको पहिलो बैठक ११ जेठ सोमबार दिउँसो १ बजे बस्नेछ । मन्त्रिपरिषद्ले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखद्वारा जारी सूचनाअनुसार अधिवेशन हेटौंडा उपमहानगरपालिका परिसरस्थित सभाहलमा सञ्चालन हुनेछ । आगामी अधिवेशनमा आर्थिक वर्ष २०८३÷८४ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिने जनाइएको छ ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ । मन्त्रालयहरूको संख्या तथा कार्यक्षेत्रमा गरिएको पुनर्संरचनापछि जिम्मेवारी स्पष्ट पार्न नियमावली परिमार्जन गरिएको प्रदेश सरकारका प्रवक्ताले बताएका छन् ।















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्