मकवानपुरको भीमफेदी गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।गाउँपालिकाले तेस्रो पटकमा बिहीबार एकैदिन ११६ जनालाई कोषमा आबद्ध गराएको पालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ मा ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आबद्धता भएका स्वयंसेविका र श्रमिकलाई परिचय पत्र वितरण गरेका छन् ।मुख्यमन्त्री बानियाँले गरिखाने मेहनती वर्गको सुरक्षाका लागि कोषमा आबद्ध गराउने प्रदेशका पालिकालाई ५० प्रतिशत सहयोग पुग्ने गरी आगामी नीति र बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

स्वयंसेविका र श्रमिकलाई कोषमा आबद्ध गराउन पालिकाले यो वर्ष ३० लाख बजेट बिनियोजन गरेको थियो । गाउँपालिकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा योगदानमा आधारित श्रमिक कोष बजेट शीर्षकमा १३ लाख बजेट विनियोजन गरेको थियो ।
श्रमिकको हक संरक्षणका लागि गाउँपालिकाले दायित्व लिएको अध्यक्ष हिदम लामाले बताए । उनका अनुसार पालिकाले हालसम्म ३ सय ११ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ ।
कोषका अनुसार ९ वटा पालिकाबाट हालसम्म आबद्ध भएका ९९५ अनौपचारिक श्रमिकमध्ये भीमफेदीका सबैभन्दा धेरै हुन् । भीमफेदीसहित फेदीखोला गाउँपालिका, बाँसगढी नगरपालिका, बिरुवा गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका, माग्दे गाउँपालिका, प्युठान नगरपालिका, ताराखोला गाउँपालिका र बेलबारी नगरपालिकाले आफ्ना अनौपचारिक श्रमिकलाई कोषमा आबद्ध गराएको जनाइएको छ ।
भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो स्थानीय तह हो ।यो पालिकाले २०८० र ०८१ मा गरेर यहाँ कार्यरत एकसय ९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको थियो । कोषमा आबद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन् ।

औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक आधारभूत पारिश्रमिकको ११ प्रतिशत र गाउँपालिकाको तर्फबाट ९.३७ प्रतिशत थप गरी कुल २० दशमलव ३७ प्रतिशत अर्थात मासिक दुई हजार ४७९ रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाएको अध्यक्ष लामाले जनाए ।
श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा जस्ता सेवा सुविधा प्राप्त गर्नेछन् ।पहिले उपचारमा करिब १० हजार रुपैयाँसम्म खर्च हुने अवस्था रहे पनि अहिले कोषमा आवद्ध भएपछि करिब २ हजार रुपैयाँमै उपचार सम्भव भएको सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुरको अनुभव छ ।
भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच ३० साउन २०८० मा सम्झौता भएको थियो । कोषले ११ मंसिर २०७७ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्