मकवानपुरको थाहा नगरपालिकाबाट करदाता सेवा केन्द्र सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । १६ वैशाखमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल र आन्तरिक राजश्व कार्यालय हेटौंडाका कर अधिकृत युक्त प्रसाद सुवेदीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको विशेष उपस्थितीमा उक्त कार्यक्रम भएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिए ।

समझदारी अनुसार अब थाहा नगरपालिकामा करदाता सेवा केन्द्र सञ्चालन हुनेछ । नेपाल सरकारले १७ कार्तिकमा गरेको निर्णयलाई कायान्वयन गराउने क्रममा थाहा नगरपालिकामा करदाता सेवा केन्द्र सञ्चालन हुन लागेको कर अधिकृत सुवेदीले जानकारी दिए । थाहा नगरपालिकामा करदाता सेवा केन्द्र सञ्चालन भएसँगै अब स्थायी लेखा नम्बर (प्यान) लिन हेटौंडा जानुपर्दैन । अब थाहा नगरपालिकाबाटै लिन पाइन्छ ।

त्यस्तै अब थाहा नगरपालिका क्षेत्रका व्यवसायिक स्थायी लेखा नम्बर पनि नगरपालिकाले नै वितरण गर्नेछ । थाहा नगरपालिकाले नगर क्षेत्रमा ठेगाना भएका मुल्य अभिवृद्धि करमा आवद्ध व्यवसायीको कागजात भिडाइ आन्तरिक राजश्व कार्यालय पठाउने व्यवस्था गर्नेछ । करचुक्ता माग गर्नेका लागि कागजात भिडाई राजश्व कार्यालयमा सिफरिस गर्ने र करचुक्ता प्रदान गर्नेलगायतको कार्य अब थाहा नगरपालिकाबाटै हुने समझदारी पत्रमा उल्लेख छ ।

करदाता सेवा केन्द्रलाई दक्ष बनाउने कार्यमा आन्तरिक राजश्व कार्यालय हेटौंडाले सहयोग गर्ने, कर शिक्षा प्रदान गर्ने तथा ‘करदाता सेवा कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानीय तहबाट प्रदान गर्ने सम्बन्धी कार्यसञ्चालन कायृविधि, २०८२’ बमोजिमका कार्यहरु नगरपालिकाले गर्ने समझदारी पत्रमा उल्लेख छ ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल तथा शाखा प्रमुखहरु र कर्मचारीको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी