संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ प्रतिभा रावललाई दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

रास्वपाबाट समानुपातिक प्रणालीअन्तर्गत महिला क्लस्टरबाट निर्वाचित ३२ वर्षीया रावललाई दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

रावलले एक दशकभन्दा बढी समय पत्रकारितामा बिताएकी छन् । सार्वजनिक सरोकारका विषयमा संवाद र जबाफदेहिता स्थापित गर्ने काम गरेकी रावल ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा रास्वपा सभापति रवि लामिछानेसँग नजिकबाट काम गर्दै राजनीतिमा प्रवेश गरेकी हुन् ।

रवि लामिछाने गृहमन्त्री रहँदा रावलले प्रमुख स्वकीय सचिवका रूपमा काम गरेकी थिइन् । हाल उनी रास्वपाको सह प्रवक्ताको जिम्मेवारीमा रहेकी छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिएकी रावलले प्रारम्भिक शिक्षा महेन्द्रनगरमै पूरा गरेकी हुन् । पाँच वर्षको उमेरमै पिताको निधन भएपछि आमा माया रावलले संघर्ष गर्दै उनलाई हुर्काएकी थिइन् । स्नातक तहसम्मको अध्ययनपछि उनले भारतको चेन्नईबाट स्नातकोत्तर तह पूरा गरेकी छन् ।

हक्की स्वभाव र स्पष्ट अभिव्यक्तिका लागि परिचित रावलले अब संघीय प्रशासन र भूमि व्यवस्थापनजस्ता संवेदनशील क्षेत्रमा नीतिगत सुधार र सेवा प्रवाह सुदृढ गर्ने जिम्मेवारी पाएकी छिन् । पछिल्लो समय कर्मचारी खटनपटनको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विवादित बन्दै आएको छ ।

कमै मन्त्रीहरू मात्रै उक्त विवादबाट जोगिन सकेका छन् भने एक जना मन्त्रीले कर्मचारी सरुवामा घुस लेनदेनको विषयमा मन्त्री पद नै छोड्नुपरेको थियो । तत्कालीन मन्त्री राजकुमार गुप्ताविरुद्ध अख्तियारले भ्रष्टाचारमा मुद्दा नै चलाएको थियो ।

पालिका प्रेस
थप जानकारी