हेटौंडा उपमहानगरपालिकाको उपमहानगरको १८ औं नगर सभा (हिउँदे अधिवेशन) ले ३ करोड ४६ लाख ९० हजार रुपैयाँसहितको संशोधित तथा पुरक बजेट अनुमोदन गरेको हो । यसअघि असार १० गते सम्पन्न १७ औं नगरसभाले आर्थिक वर्ष २०८२÷८३ का लागि २ अर्ब ९० करोड तीन लाख १० हजारको कुल आयव्यय बजेट अनुमान स्वीकृत गरेको थियो ।

यो बजेटमा थप साढे तीन करोडसहित कुल २ अर्ब ९३ करोड ५० लाख बजेट शुक्रबारको नगरसभाले स्वीकृत गरेको छ । नगरसभामा बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्षको छ महिनामा संघीय सरकारबाट समानीकरण तथा सशर्त अनुदानतर्फ गरी ६२ करोड ७ लाख १९ हजार तथा प्रदेश सरकारबाट समानीकरण, सशर्त र समपुरक अनुदानतर्फ ५ करोड ६२ लाख ८७ हजार प्राप्त भएको जानकारी दिए ।

राजश्व बाँडफाँडतर्फ १६ करोड ४ लाख ६४ हजार रुपैयाँ र नगरको आन्तरिक स्रोत (कर र राजश्व) बाट गत वर्षको नगद मौज्दात गरी २१ करोड ४६ लाख प्राप्त भएको जानकारी दिए । कुल अनुमानको ३६ दशमलब ३० प्रतिशत आम्दानी भएको नगरसभामा जानकारी दिइएको छ । खर्चतर्फ प्रशासनिक व्ययमा १९ करोड १४ लाख ९६ हजार रुपैयाँ अर्थात् ३०.७३ प्रतिशत खर्च भएको छ ।

संशोधित बजेटअनुसार जेनजी आन्दोलनबाट क्षति पुगेका कार्यालयका लागि सामग्री, उपकरण तथा फर्निचर व्यवस्थापनमा १३ करोड १९ लाख ५६ हजार, भौतिक संरचना पुनर्निर्माणमा २१ करोड ६८ लाख ५० हजार र गतवर्षको दायित्व भुक्तानीका लागि ५ करोड ८० लाख २३ हजार रुपैयाँ थप गरिएको छ । यसरी कुल ४० करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको अतिरिक्त बजेट सभामा पेश गरिएको थियो ।

हालसम्म ६४ करोड १४ लाख ११ हजार रुपैयाँ अर्थात् २२ दशमलब ११ प्रतिशत ‘वर्षभार’ रहेको पनि उनले जानकारी दिए । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त उपमहानगरपालिकाको भवन, सवारी साधन, वडा कार्यालय र स्वास्थ्य केन्द्रहरु पुनर्निर्माणको खर्च जुटाउने उद्देश्यले भौतिक तथा अन्य विकास योजनाहरु कटौती गरी बजेट घटाउन कात्तिकदेखि नै विभिन्न समितिमा छलफल चलाउँदै आएको थियो ।

पालिका प्रेस
थप जानकारी