मकवानपुरमा १४ हजा ६ सय १ जना मतदाता थपिएका छन् । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि थपिएका समेत गरी मतदाताको संख्या तीन लाख १५ हजार तीनसय ३४ पुगेको छ । निर्वाचन कार्यालयका सूचनाअधिकारी ताराप्रसाद आचार्यका अनुसार जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा एक हजार चार सय १५ मतदाता थपिएका छन् ।
आचार्यका अनुसार सबैभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरपालिकामा ७ हजार एक सय ६३ थप भएका छन् । त्यसपछि मनहरी गाउँपालिकामा एक हजार चार सय ६८ मतदाता थपिएका छन् । यसैगरी बकैया गाउँपालिकामा ८ सय १७, बागमती गाउँपालिकामा ८ सय ४०, मकवानपुरगढी गाउँपालिकामा ७ सय ५४ र भीमफेदी गाउँपालिकामा ६ सय ९३ मतदाता थपिएका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा ३ सय ७३, कैलाश गाउँपालिकामा ३ सय ६३ र राक्सिराङ गाउँपालिकामा २ सय ३५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता संख्या वृद्धि भएसँगै जिल्लामा मतदान केन्द्र पनि थप गरिएको छ ।
मतदानस्थल भने साविककै कायम राखिए पनि मतदान केन्द्र १० वटा थप गरिएको सूचनाअधिकारी आचार्यले जानकारी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल १ सय ६७ मतदानस्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन् । यसअघि जिल्लामा ३ सय ६४ मतदान केन्द्र रहेका थिए । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १ सय ७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ सय ५ मतदानस्थल र १ सय ९६ मतदान केन्द्र तोकिएका छन् ।
अद्यावधिक तथा दाबीविरोधको क्रममा निर्वाचन कार्यालयले मतदाता सूचीबाट ८ सय ८४ नाम हटाएको छ । मृत्यु भएका २ सय १ जना मतदाता तथा दोहोरो नाम रहेका ६ सय ८३ जनाको नाम सूचीबाट हटाइएको कार्यालयले जनाएको छ । मतदाता विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४ सय ३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन् । जिल्लाभर कुल मतदातामध्ये महिला एक लाख ५३ हजार ३ सय ७६, पुरुष एक लाख ६१ हजार ९ सय ५३ र अन्य ५ जना रहेका छन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्