मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ देउखेलको सरस्वती माध्यमिक विद्यालय शिक्षक बिनोद अर्यालको सरुवा भएको छ । सरुवा भएका शिक्षक अर्यालले सरस्वती माविमा निरन्तर २६ वर्ष ३ महिना सेवा गरेको विद्यालयले जनाएको छ । उनले वि.सं. २०५६ सालदेखि २०८० सालसम्म सहायक प्रधानाध्यापकको रूपमा र २०८० सालदेखि २०८१ साल भदौसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको विद्यालयले जनाएको छ ।

धुनीबेसी नगरपालिका–९, धादिङको सेतीदेवी आधारभूत विद्यालयमा सरुवा भएका शिक्षक अर्याललाई ४ पुसमा विद्यालय परिवारले विशेष सम्मानसहित बिदाई गरेको हो । उनलाई विद्यालय व्यवस्थापन समितिले उच्च् प्रशंसासहित “फेरि भेटौँला” कार्यक्रमका बीच बिदाई गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर लोको अध्यक्षतामा भएको विदाइ कार्यक्रमको प्रमुख अतिथी थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल रहेका थिए । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष शिवराज थिङ, सुन्दरीदेवी माध्यमिक विद्यालयका निवर्तमान अध्यक्ष विनायक गोले, सुन्दरीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा थाहानगर शिक्षा समिति सदस्य हरिकृष्ण कार्की, इन्द्रायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर कार्की, पूर्व विद्यार्थी रामकृष्ण कार्की (सकार) तथा सरस्वती माविका प्रधानाध्यापक विष्णु वाइवाका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले शिक्षक अर्यालको अनुशासन, नेतृत्व क्षमता, शैक्षिक सुधारप्रतिको प्रतिबद्धता र विद्यार्थीप्रतिको समर्पणको प्रशंसा गर्दै शिक्षक अर्यालको योगदान विद्यालयको इतिहासमा स्मरणीय रहने बताए ।

बिदाई कार्यक्रमले उनीप्रति विद्यालय परिवारको सम्मान, कृतज्ञता र शुभेच्छा व्यक्त गरेको विद्यालयले जनाएको छ । धादिङ जिल्ला थाक्रे गाउँपालिका–४ स्थायी घर भई शिक्षक अर्यालले वि.सं. २०५६ साल भदौ १ गतेदेखि २०८२ साल मंसिर १६ गतेसम्म सरस्वती माध्यमिक विद्यालयमा निरन्तर शिक्षण सेवा गरेका हुन् ।

पालिका प्रेस
थप जानकारी