हेटौँडा उपमहानगरपालिकाले त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गको प्रस्ताव गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको बुद्धचोकबाट उत्तरतर्फको खण्डलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्न प्रस्ताव गरेको हो। हेटौँडामा भएको जनप्रतिनिधि र सरोकारवालाको भेलाले राष्ट्रिय राजमार्गको विकल्पमा पर्यटकीय राजमार्गका रूपमा विकास गर्न सरकारसँग माग गर्ने निष्कर्ष निकालेको छ।
बुद्धचोकबाट उत्तरतर्फको खण्डमा बस्ती विकास हुँदै गएको र उक्त मार्गमा सरकारको ठूलो लगानीको औचित्य र उपादेयता कम हुनुका साथै प्रतिफलसमेत कम दिने भएको पर्यटन मार्गको रूपमा विकास गर्न सरकारसँग माग गर्न स्थानीय सहमत भएका हुन् । पर्यटकीय मार्गका रूपमा अगाडि बढाउन प्रस्ताव गर्दै उक्त सडकखण्डलाई सडक केन्द्रबाट दायाँबायाँ १६–१६ मिटर मात्र सडक सीमा निर्धारण गर्न सरकारसँग अनुरोध गर्ने गरी भेलामा सहमति भएको हेटौंडा उपमहानगरपालिका २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।

सडक डिभिजन हेटाँडाले बुद्धचोकबाट सामरी पुलसम्म दायाँबायाँ २५–२५ गजको सडक सीमाभित्रका घरटहरा हटाउन सूचना जारी गरी प्रक्रिया अगाडि बढाएको छ । उक्त मार्ग भएर जाने वडा नम्बर १ र २ का वडा अध्यक्षसहित जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको सो भेलामा सडक केन्द्र भागबाट दायाँबायाँ १६–१६ मिटर चौडा गर्न प्रभावितले सहमति जनाएका छन् ।
यस्तै हेटौंडा उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ अध्यक्ष सबिन न्यौपानेले द्रुतमार्ग बनिसकेपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप घट्ने भएकाले १६ मिटर चौडा गर्दा पर्याप्त बताए । त्रिभुवन राजपथको बुद्धचोकबाट उत्तरतर्फ पर्यटकीय मार्ग बनाउन कार्यपालिका बैठकले समेत निर्णय गरेको उनले बताए । आगामी पुसमा बस्ने नगर सभाबाट पारित गरेर संघीय सरकारसमक्ष पेस गरिने उनको भनाइ छ । हेटौंडा उपमहानगरपालिकाको ७६ औँ कार्यपालिका बैठकले नगर सभामार्फत संघीय सरकारलाई यस्तो अनुरोध गर्ने निर्णय गरेको हो।
सडक डिभिजन हेटौंडाले एसियाली राजमार्ग पर्ने हेटौँडा उपमहानगरपालिकाको रातोमाटोदेखि राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा संरक्षण गर्न भन्दै सडक सीमाभित्र रहेका घरटहरा हटाउन सूचना जारी गरेको थियो । त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म करिब तीन किलोमिटर रहेको सडक डिभिजन हेटौंडाले जनाएको छ । यस खण्डमा सडक चौडाका क्रममा हेडम्बी हाइटसम्म सडक डिभिजनले डोजर चलाएको छ । त्यहाँबाट उत्तरतर्फ स्थानीय आफैँले घरटहरालगायतका संरचना हटाउने क्रम जारी छ । –गोरखापत्रबाट

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्